क्लेपद्धारा १ सय ६६ बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघ, बालश्रम न्युनिकरण कार्यक्रमको आयोजना तथा सामाजिक विकास मन्त्रालय तथा पोखरा महानगरपालिकाको सहयोगमा श्रम तथा जोखिममा रहेका १ सय ६६ जना बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

बुधबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेष नारायण पौडेलको प्रमुख आतिथ्यतामा यस शैक्षिक बर्ष–२०७६ मा भर्ना गरिएका बालबालिकालाई पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै पौडेलले नेपाल हरेक विषयमा अब्बल रहेतापनि त्यस अनुरुप परिचालन हुन नसकेको औल्याउनुभयो । उहाँले जिन्दगी भरी नै सुख देख्न चाहेर मात्र नहुने भन्दै सफल हुनका निम्ति सोही अनुसारको परिश्रम पनि जरुरी रहेको बताउनुभयो । संगत अनुसारको प्रतिफल हुने तर्क राख्दै पौडेलले बालबालिकालाई सही मार्गदर्शनमा प्रेरित गराउनका निम्ति महानगरले यस्ता कार्यक्रमको निरन्तरतालाई जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही अवसरमा बोल्दै सामाजिक विकास मन्त्रालयका सामाजिक महाशाखा प्रमुख जमुना पौडेलले “समृद्ध नेपाल सुखी नेपाली” को अवधारणालाई आत्मसाथ गर्दै अगाडी बढेको नेपालमा गुणस्तर जनशक्तिको आवश्यकता तिनै तहलाई रहेको बताउनुभयो । उहाँले स्वयंममा परिवर्तन गर्न आवश्यक रहेको भन्दै बालबालिकासँग केन्द्रित रहेर विभिन्न कार्यक्रम संचालन गर्न सामाजिक मन्त्रालय तत्पर रहेको बताउनुभयो ।

क्लेपका अध्यक्ष राजेन्द्र कुमार लालचनले व्यापारीको छाता संगठन रहेको यस संस्थाले विगत २० बर्ष देखि बालश्रम विरुद्धको अभियानमा लागि परेको बताउनुभयो । उहाँले पोखरा महानगरपलिकाको सहयोगबाट बालश्रम ७५% भन्दा अधिक न्युनिकरण भएको तर पुरै निर्मुल पार्न भने नसकेको जानकारी दिनुभयो । विभिन्न संघसंस्था एवं महानगरसँगको हातेमालोबाट हालसम्मको उपलब्धि हासिल गर्न सकेको भन्दै लालचनले सहयोगी सबैमा धन्यवाद प्रकट गर्नुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष पवन कुमार प्रजापति, वाणिज्य संघका कार्यसमिति सदस्य मुना बास्तोला, रामेश्वर अधिकारी, पार्दी मा.विका प्र.अ विष्णु प्रसाद बराल, वरपाटन मा.वि.का सहायक प्र.अ विष्णुप्रसाद तिमिल्सिना, पोखरा महेन्द्रपुल सम्र्पक केन्द्र इकाइ बाल क्लबको अध्यक्ष विपना परियार लगायतले बालश्रम विरुद्धको अभियानलाई तीनै तहको सरकारले अझ सशक्त ढंगबाट अगाडी बढाउन आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
पोखरा भित्र स्थापना भएका बालश्रम ईकाई समितिका इन्चार्ज, विद्यार्थी एवं अभिभावकहरुको उपस्थिती रहेको सो कार्यक्रमको संचालन पोखरा उद्योग वाणिज्य संघ, बालश्रम न्युनिकरण कार्यक्रमका परियोजना संयोजक प्रिति पाण्डेले गर्नुभएको थियो ।