उपल्लो मुस्ताङमा ४४ वर्ष पछि ल्हामो (लोक नाटक गिती नाटक) मञ्चन

लोमान्थाङ मुस्ताङ ।

उपल्लो मुस्ताङ लोमान्थाङका छिरिङ वाङ्दी उमेरले ७४ वर्ष पुगे । वैशको उमेर २५ वर्ष छंदा वाङदी लगायतका साथीहरु हिमाली क्षेत्रमा बसोवास गर्ने मानिसहरुको जीवनमा आधारित रहेको लोक नाटक उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा मञ्चन गरी रमाइलो गर्ने गर्थे । त्यतीवेला उपल्लो मुस्ताङका मानिसहरु त्यती शिक्षित थिएनन त्यसैकारण पनि त्यो वेलाको लोक नाटकले निरन्तरता पाउन सकेन लोप भएर गयो ।

बिहीबार लोमान्थाङ दरवार परिसरमा नेपाल हिमालयन ल्हामो समाजका कलाकारद्धारा ल्हामो ( लोक गिती नाटक ) मञ्चन गरिरहदा ७४ वर्षे वाङदीले आफ्नो पुराना दिनहरु ताजा वनेर आएको वताए । आफु २८÷२९ वर्षको उमेर सम्म हिमालयन ल्हामो समाजले आयोजना गरेको जस्तो ओपेरा गिती नाटकमा सहभागी भएको स्मरण गर्दै वाङदीले उपल्लो मुस्ताङमा शिक्षाको कमी हुदा आफुहरुको पुरानो संस्कृती लोप भएर गएकोमा दुखेसो पोखे ।
वाङदीले भने हाम्रो वेलामा पढेको मान्छे एक दुइ जनामात्र हुन्थे तिनीहरुको सारमा लागेर नाटक गरिन्थ्यो पछि पछि उनीहरु विस्तारै गाउ छाडेर जाने क्रम वढ्न थाल्यो हामी नपढेकोले यसलाई निरन्तरता दिन सकेनौ दुख लाग्छ । वाङदी जस्तै त्यो वेला नाटकमा सहमागी हुने अहिले लोमान्थाङ ४ जना जति मात्र छन । तर उनीहरुले त्यो वेलाको संस्कृतीक लोक नाटक भुलिसकेभने उनीहरुको पछिलल्लो पुुस्ताले यसबारेमा चासो देखाएनन ।

यस विषयमा भने ढिलै भएपनि गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले यसमा चासो देखाएका छन । लोमान्थाङका बासिन्दा समेत रहेका इन्द्रधारा विष्टले आफु सानो छंदा लोक गिती नाटकहरु मञ्चन हुने गरेको र उक्त नाटकहरु लोप भएर गएपछि हालैमात्र हिमालयन ल्हामो समाज संग सहकार्य गरी उपल्लो मुस्ताङमा लोप भएर गएको गितीनाटक ल्हामो मञ्चन गरिएको वताए । ल्हामो (लोक गिती नाटक) मुस्ताङमा कुनै वेला मञ्चन गरिन्थ्यो तर समय परिस्थिती संगै यो लोप भएर गयो त्यसैलाई पुनर्ताजगी गर्नका लागी आफुले नेपाल हिमालयन ल्हामो समाज संगको सहकार्यमा ओपेरा ल्हामो प्रस्तुती लोमान्थाङका जनताबीच मञ्चन गरिएको वताए । यो कार्यक्रमले लोमान्थाङ बासीलाई पुरानो दिनको यादलाई पुनर्ताजगी गरेको विष्टको भनाइ रहेको थियो ।

नेपाल हिमालयन ल्हामो समाजका प्रशिक्षक तेन्जीङ नाम्गेलले सन १९७६ बाट हिमाली क्षेत्रको वास्तविक कथालाई बोकेर नेपाल हिमालयन ल्हामो समाजले ओपेरा लोक गिती नाटक मार्फत समाजमा सचेतना फैलाउदै आएको वताए । विशेषगरी हाम्रो समाजमा महिला त्यो पनि विशेषगरी वुहारीहरु माथी सासु सशुराबाट गरिने ब्यवहार र समाजले हेर्ने दृष्टीकोषलाई सचित्र वर्णन गर्ने गरी लोक गिती नाटक मञ्चन गरिरहेको र त्यसबाट समाजमा सकारात्मक सन्देश प्रदान गरिरहेको वताए ।

हिमाली क्षेत्रका युवा युवतीहरुको साझा संस्थाले स्थापना कालदेखी हाल सम्म नाङसा ह्यो बुम (नारीको कथामा आधारित कथा) धर्ममा विश्वास नगर्नेहरु प्रति लक्षित गरी धर्म प्रति विश्वास राख्नुपर्ने सन्देश प्रदान गर्दै समाजमा वुहारीलाई पनि आफ्नै सन्तानको रुपमा हेरी कसैलेपनि अन्याय कसैलाई गर्नु हुदैन भनी सन्देश प्रदान गरिएको नाम्गेलको भनाइ रहेको थियो । विषेश गरी हिमाली क्षेत्रका मानिसहरु बसोवास गर्ने क्षेत्रहरु नाम्चे, काठमाण्डौ र भारतका हिमालय क्षेत्रका विभिन्न शहरहरुमा उक्त गिती नाटक प्रस्तुत गरिसकिएको र हालै मात्र मुस्ताङमा समेत मञ्चन गरिएको वताए ।