पोउवासंघ र उद्यमी व्यावसायी बिच छलफल

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघ पहिला विकास निर्माणको हिस्सेदार जस्तो मात्र लाग्दथ्यो तर अहिले बढी व्यावसायीको हितमा क्रियाशिल रहेको सदस्यहरुले बताएका छन् । उद्योगी व्यावसायीहरुको हक हितकालागि सरकार संग पहल गर्न संघ अघि बढेमा सबै व्यावसायीहरुको साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उद्यमी व्यावसायीहरुको प्रतिष्पर्धी क्षमता बढाउन विभिन्न तालिम गोष्ठी एवं अन्तरक्रियात्मक छलफल कार्यक्रमको आयोजना गर्नुका साथै व्यावसायीहरुलाई परिरहेको घरभाडा, बैंक व्याजदर, कर जस्ता समस्याहरुमा लविङ्ग गर्न पहल गर्नुपर्ने आग्रह गरे । सदस्हरुबीच आपसी भाइचारा अभिवृद्धि गर्नुका साथै व्यावसायीहरुका समस्या पहिचानका लागि संघले सुरु गरेको छलफल कार्यक्रममा सदस्यहरुले सु्झाव दिए ।

पृथ्वीचोक, सृजनाचोक, नागढुङ्गा, नयाँबजार, न्यूरोडका व्यावसायीहरुलाई समेट्ने गरि आयोजित उक्त कार्यक्रममा कपडा व्यावसायी समितिका निवर्तमान अध्यक्ष यमनाथ तिमिल्सीना र व्यवसायी मिन बहादुर बस्नेतले फुटपाथ, दर्ता नगरी संचालन भएका व्यवसाय, पार्किङ्ग जस्ता समस्याहरुको बैकल्पीक व्यवस्था गर्नुपर्ने बताए । व्यावसायी राधा श्रेष्ठ र पृथ्वी होटल व्यावसायी संघका निर्वतमान अध्यक्ष कमल प्रसाद न्यौपानेले शनिबार बढ्ने पोके व्यापारीको चापले गर्दा आफ्नो सटरको व्यापारमा असर परेको र यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुका साथै सबै व्यापारी समान भएकाले सबैलाई दर्ता गराई करको दायरामा ल्याउनका लागि सम्बन्धीत निकायमा पहल गर्न पोउवासंघलाई अनुरोध गरे ।

व्यावसायी कृष्ण प्रसाद सुवेदी र भोजराज सुवेदीले संघका पदाधिकारी एवं सदस्यहरु संघको चुनावताका मात्र व्यावसायीको घरदैलो गर्ने कार्यलाई तोडी आज यो नयाँ थालनीको स्वागत गर्दै यस कार्यले संघप्रति सकारात्मक प्रभाव पार्ने बताए । गर्विलो ईतिहास बोकेको पुरानो संस्थालाई सबै मिलेर बलियो बनाउन सबैको साथ र सहयोग चाहिने बताए । पृथ्वी होटल व्यावसायी संघका अध्यक्ष हरि प्रसाद पाण्डे, तिब्वेतियन सरणार्थी क्याम्प व्यापारिक एशोसियसनका अध्यक्ष रुद्रनाथ पौडेल, व्यावसायी विष्णु तिमिल्सीनाले अहिलेको समयमा संघले धेरै व्यावसायीहरुका समस्याहरु समाधान गर्नै आएको, संघलाई प्रविधिमैत्री बनाउँदै व्यावसायी र संघबिच सम्वाद गर्न सहज भएको बताउँदै घर भाडाको समस्या समाधान गर्न वैज्ञानिक भाडादर लागु गरि व्यावसायीका दिर्घकालीन समस्या समाधान गर्न नीति नियम बनाउनु पर्ने बताए ।

पोखरा–९, पृथ्वीचोक स्थित पृथ्वी होटल व्यावसायी संघको सभाहलमा व्यावसायीहरुका गुनासा र सुझावहरु सुनेपछि संघका अध्यक्ष दामु अधिकारीले उद्योगी व्यावसायीहरुको समस्या समाधान गर्न आफु हरदम प्रयासरत रहेको बताए । आगामी दिनहरुमा पनि आवश्यक तालिम, गोष्ठी एवं अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्नुका साथै व्यावसायीहरुको हितका लागि सम्वन्धित सरकारी निकायमा तदारुकताका साथ पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइराला, कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छे, उपमहासचिव चिनु गुरुङ्ग, समस्या पहिचानका संयोजक तथा संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारीका साथै अधिकांस कार्यसमिति सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन संघका महासचिव अर्जुन पोखरेलले गरेका थिए भने स्वागत मन्तव्य पृथ्वी होटल व्यावसायी संघका अध्यक्ष हरि प्रसाद पाण्डे र संघका उपाध्यक्ष (उद्योग) विन्दु कोइराला सुवेदीले धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन् ।