श्रम तथा जोखिममा रहेका बालबालिकालाई लक्ष्मी बैंकको सहयोग

पोखरा, ९ असार ।

लक्ष्मी बैंकले पोखरा नगर क्षेत्रका श्रम तथा जोखिममा रहेका बालिकाहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै यहाँका विभिन्न विद्यालयमा अध्ययनरत ११ जना छात्रालाई जनही ७ हजार रुपैयाँ बराबरका पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको हो । बैंकले पोखरा उद्योग वाणिज्य संघद्धारा संचालित बालश्रम न्यूनिकरण कार्यक्रममार्फत ती विद्यार्थीहरुलाई सहयोग गरेको बैंककी पोखरा चिप्लेढुंगा शाखाकी म्यानेजर सुनिता राणाले जानकारी दिइन् ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका गण्डकी प्रदेश प्रमुख संजिव मानन्धरले श्रम तथा जोखिममा रहका बालबालिकालाई सहयोग गर्नु समाजको कर्तव्य भएको बताए । उनले सहयोग अभियानलाई निरन्तरता दिने वचन पनि दिए ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सहयोगलाई प्रचारमुखी हैन कि आत्मसन्तुष्टीसँग जोडेर हेर्नुपर्नेमा जोड दिए । बालश्रम न्यूनिकरण कार्यक्रमका अध्यक्ष राजेन्द्रकुमार लालचनले कार्यक्रमले पोखराको औद्योगिक क्षेत्रलाई बालश्रम मुक्त बनाइएको बताउँदै बालश्रम अन्त्यको लागि सबैको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए ।

बालश्रम न्यूनिकरण कार्यक्रमकी कार्यक्रम संयोजक प्रिति पाण्डेका अनुसार पोखरा उद्योग वाणिज्य संघद्धारा संचालित बालश्रम न्यूनिकरण कार्यक्रमले हालसम्म ७ हजारभन्दा बढी बालबालिकाहरुलाई अनौपचारिक शिक्षा, परिवार पुनर्मिलन, रोजगारीको अवसर सृजनामा सहयोग पु¥याएको छ ।