संगीतले तात्दै गुराँसको राजधानी

संखुवासभा – आउँदो नयाँवर्ष तपाईं कसरी मनाउँदै हुनुहुन्छ? नयाँवर्ष पूर्वी नेपालको यात्रा गरेर मनाउने योजना छ भने तपाईंलाई गुराँसको राजधानी तीनजुरे–मिल्केमा स्वागत छ। गुराँसका लागि प्रख्यात रहेको पूर्वी पहाडी यो क्षेत्र आगामी नेपाली नयाँवर्ष अर्थात् २०७६ संगीतमय बन्दैछ। जहाँ विश्वका १ सय २ देशका नागरिकको जमघट हुनेछ।

यहाँ तीनजुरे गुराँस क्लबको संयोजनमा चैत २२ गतेबाट १५ दिन लामो अवधिका लागि अन्तर्राष्ट्रियस्तरको संगीत महोत्सव हुन लागेको हो। सम्भवतः नेपालमै पहिलोपटक हुन लागेको कार्यक्रमका लागि यतिबेला संखुवासभाको चौकी र मंगलवारे क्षेत्रका मानिसमा उत्साह जागेको छ। ‘कार्यक्रमका लागि सबै किसिमका तयारी गर्दै आएका छौं। नयाँबर्ष अगावै चौकी क्षेत्र रंगीनेछ’, आयोजक तीनजुरे गुराँस क्लबका अध्यक्ष रविन ल्होले भने।

मादी नगरपालिका वडा नम्बर १ को राँकेधार डाँडामा हुने कार्यक्रममा विश्वका ख्यातीप्राप्त संगीत ब्याण्डमा आबद्ध संगीतकर्मीहरूको सहभागिता हुने आयोजक संस्थाले दाबी गरेको छ। आयोजक संस्थाका अध्यक्ष ल्होले चैत २२ गतेदेखि वैशाख ७  गतेसम्म हुने यो कार्यक्रमले विश्वको ध्यान संखुवासभाको चौकीमा तान्ने दाबी गरे। ‘यस्तो भव्य कार्यक्रमको परिकल्पना र यसलाई पूरा गर्ने क्रममा ठुलै चुनौती आईपरेपनि हामी सहज ढंगले चिर्नेछौं’, ल्होले नागरिकसँग भने। उनले कार्यक्रमका लागि मादी र चैनपुर नगरपालिकासहित आसपासका क्षेत्रका बासिन्दाबाट ठुलो सहयोग हुँदै आएको जानकारी दिए। 

चौकीबजारका स्थानीय सुजन पाठकले अमेरिका, बेलायत, जर्मनी, रुस, क्यानडा, जापानलगायतका देशका संगीतकर्मीहरूको जमघटले तीनजुरे क्षेत्रको मात्र नभई नेपालकै साख वृद्धि हुने आशा व्यक्त गरे। उनले १५ दिन लामो अवधिमा फरकफरक देशको उत्तिकै संख्याका संगीतले गुराँसले राताम्मे तीनजुरे क्षेत्र संगीतले मन्त्रमुग्ध हुने बताए। 

कार्यक्रमको तयारी र व्यवस्थापनका लागि एक महिनाबाट खटिँदै आएको बताउने चौकी बजारका यज्ञ कार्कीले आन्तरिक तथा बाह्य पर्यटकलाई तीनजुरे क्षेत्रमा संगीतले स्वागत गर्ने तयारी गरिएको जनाए। उनले गुराँसको राजधानी मानिएको यो क्षेत्रमा नयाँवर्ष २०७६ अन्तर्राष्ट्रियस्तरको संगीतका साथ मनाउन पाउने अवसर रहेको बताए।

तीनजुरे–मिल्के क्षेत्रको चौकी यहाँ सवारी सञ्चालन हुनुपूर्व पदमार्ग रहँदाको अन्यन्त व्यस्त बजार हो। ताप्लेजुङको बहानन्देबाट–साँघु संखुवासभाको गुफा हुँदै धनकुटासम्म जोडिएको मदन भण्डारी राजमार्गले यहाँको पदयात्रा छोट्याएको छ। स्थानीय शिवमाया बुढाथोकीले सडकमार्गले ओझेलमा पर्ने सम्भावना चिहाइरहेको चौकी क्षेत्रमा हुन लागेको १५ दिन लामो संगीत महोत्सवले पर्यटन क्षेत्र पुनर्जागरणमा भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। उनले यो महोत्सवलाई नेपालकै नाम चिनाउने पवित्र कार्यको रूपमा व्याख्या गरिन्।