व्यवसायीहरुका समस्या सुन्न पोउवा संघका प्रतिनिधि टोलटोलमा

पोखरा, २७ जेठ ।

पोखरा उद्योग वाणिज्य संघलाई सवल र चुस्त बनाउन एवं उद्यमशीलता विकास र व्यवसायीको हक अधिकार रक्षामा अझ क्रियाशिल रहन सदस्यहरुले सुझाएका छन् । उनीहरुले गर्विलो इतिहास बोकेको संघको विकल्प भनेको संघ नै भएकोमा जोड दिँदै सदस्यहरुमाथि भरोसा गर्न आग्रह पनि गरेका छन् ।

व्यवसायीहरुको प्रतिष्पर्धी क्षमता बढाउन तालीम र गोष्ठी आयोजना तथा निजी क्षेत्रले भोगेका समस्याहरुबारे गरिने लबिङलाई बढावा दिन पनि उनीहरुको आग्रह रहेको छ । सदस्यहरुबीच आपसी भाइचारा अभिबृद्धिका साथै व्यवसायीहरुका समस्या पहिचानको लागि पोखरा उद्योग वाणिज्य संघले सुरु गरेको घरदैलो कार्यक्रममा उनीहरुले यी सुझाव दिएका हुन् ।

पोखराको पुरानो व्यापारिक क्षेत्र भैरवटोल, मोहोरियाटोल, बगर र बागलुङ बसपार्क क्षेत्रका व्यवसायीहरु माझबाट सुरु गरिएको अभियानमा बोल्दै व्यवसायी विष्णु बास्तोलाले खुकुरीको चोट अचानाले जान्दैन भनेजस्तै निजी क्षेत्रको समस्याबारे सरकारले खासै ध्यान नदिएको गुनासो गरे । उनले प्रतिष्पर्धी क्षमता बढाउन साझेदारी अवधारणामा व्यवसाय बिस्तारका सम्भावनाको खोजी गर्न पोखरा उद्योग वाणिज्य संघसँग आग्रह पनि गरे । व्यवसायी कल्पना आचार्यले व्यवसायलाई चाहिने नविनत्म सोच र प्रविधीबार जानकारी दिन संघले थप तालीमको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रमक व्यवस्थापनमा सहकार्य समेत गरेका बगर व्यवसायी कल्याणकारी क्लवका अध्यक्ष प्रकाश बास्तोलाले उद्योग व्यवसाय प्रवद्र्धनका लागि करको दर घटाउनु पर्ने, घरभाडाको क्षेत्रमा देखिएको समस्या समाधान हुनुपर्ने र सामान ढुवानीमा देखिएको समस्या निराकरण हुनुपर्नेमा जोड दिए ।

पुस्तक व्यवसायी तथा संघका पूर्व कार्यसमिति सदस्य देवकृष्ण काफ्लेले भन्सार करका विषयमा संघले अभिमुखीकरण गर्नुपर्नेमा जोड दिए । अहिले पुस्तक आयातमा भन्सार लगाइएकोमा उनको आपत्ति रहेको थियो । व्यवसायी यादव शर्माले घरभाडा कर व्यवसायीले नै तिर्नुपर्नेमा जोड दिँदै व्यवसायिक सुरक्षामा ध्यान दिन उद्योग वाणिज्य संघसँग आग्रह गरे ।

संघले उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुपर्नेमा व्यवसायी दुर्गा पोखरेलको जोड थियो भने प्रेम भुषालले रातको समयमा व्यापार हुने रेष्टुरेण्ट व्यवसायीहरुले भोग्नु परेको प्रशासनीक झण्झटको अन्त्यको पहल हुनुपर्ने बताए । व्यवसायी मुक्तिनाथ आचार्यले अब व्यवसायलाई अर्को पुस्ता हस्तान्तरण गर्नुपर्ने वातावरण बनाउनु पर्ने धारणा व्यक्त गरे । यता, तिलक कोइरालाले घरभाडा कर व्यवसायीले नतिर्ने वातावरण बनाउनेतर्फ उचित कदम चाल्न संघसँग आग्रह गरे । व्यवसायी कल्याण पण्डितले बैंकको बेला न कुबेला बढ्ने ब्याजदर घटाउन सामूहिक रुपले आवाज उठाउनु पर्नेमा जोड दिए ।

व्यवसायीहका गुनासा र सुझाव सुनेपछि संघका अध्यक्ष दामु अधिकारीले आवश्यक तालीम र उठेका विषयहरु संवोधन गर्न संघले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । उनले घरभाडा करको नाममा राजश्व मात्रै उठाउने हो कि त्यो कर कसरी संकलन भएको छ भन्नेबारे बुझ्ने पनि हो भन्ने प्रश्न गर्दै यो विषयमा सरोकारवाला निकायहरुको पटक–पटक ध्यानाकर्षण गराइएको जानकारी दिए । कार्यक्रममा बोल्दै संघका महासचिव अर्जुन पोखरेलले सदस्यहरुले दिएका सुझावले संघ अझ बलियो बन्ने बाटो खुलेको बताउँदै सदस्यहरुको क्षमता अभिबृद्धिको लागि संघले आवश्यक सबैखाले व्यवस्था गर्ने बताए ।

उनले व्यवसायीहरुलाई प्रविधी मैत्री हुन आग्रह गर्दै संघले निकट भविष्यमा सदस्यहरुको जानकारीको लागि मोवाइल एप्स समेत निर्माण गर्न लागेको बताए । समस्या पहिचान अभियानका संयोजक तथा संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारीले यो अभियानलाई हरेक टोलमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा संघका पदाधिकारी तथा अधिकांश कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।