शिवालय माविमा चित्रकला प्रशिक्षण

पोखरा, जेठ १५ ।

कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा चित्रकलासम्बन्धी २ दिने प्रशिक्षण सम्पन्न भएको छ ।

राइट फर चिल्ड्रेन नामक गैरसरकारी संस्थाको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई युवा कलाकार रविन परियारले प्रशिक्षण दिएका थिए । आयल पेस्टल कलरको प्रयोग गरी विद्यार्थीहरुलाई विभिन्न सिनेरीसम्बन्धी कला सिकाइएको थियो । छनोट भएका १६ जना विद्यार्थीलाई सो प्रशिक्षणमा सहभागी गराइएको थियो ।

सो अवसरमा राइट फर चिल्ड्रेनकी फोकल पर्सन केशु भुजेलले बाल अधिकारसम्बन्धी अभिमुखीकरण गरेकी थिइन् । प्रशिक्षणमा विद्यालयका चित्रकला फोकल पर्सन ऋषिराम ओझाको समेत सहभागिता रहेको थियो ।

यसै बीच विद्यालयले नियमित रुपमा चित्रकला कक्षा सञ्चालन गर्ने विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावीले जानकारी दिए । राइट फर चिल्ड्रेनको सहयोगमा विद्यालयमा बालबालिकासँग सम्बन्धित विभिन्न तालिम, नाटकलगायतका कार्यक्रम गरिने उनले जनाए । यसअघि नै विद्यालयमा क्रियाशील शिवालय बाल क्लबले नियमित रुपमा भित्ते पत्रिका प्रकाशन गर्दै आएको छ ।