राष्ट्रिय जनगणना स्थगित/आन्तरिक तथा निजि उडानमा पनि बैशाख मसान्त सम्म रोक

jangadana

बैशाख २०, कास्की


राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको हो । कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम पनि सरकारले स्थगित गरेको थियो ।
गण्डकी प्रदेशका ११ वटै जिल्लामा जनगणनाकोलागि कार्यालय स्थापना गरेर कार्य अगाडि बढाईएको थियो । अहिले गणक तथा सुपरीवेक्षक लागि आवश्यक तालिम तथा सूचीकरणको काम चलिरहेको थियो । कोरोना कहर सामान्य बनेपछि मात्र जनगणनाको कार्य अगाडि बढाईने गुरुङ्ले बताउनुभएको छ । नेपालमा हरेक १०,१० वर्षमा जनगणना हुँदै आएपनि यो पालि कोरोनाका कारण केहि ढिला गरि हुने भएको छ ।
यसैबिच सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले आजराति १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको मन्त्री पार्वत गुरूङले बताउनुभएको छ । पोखरा विमानस्थलले आजराति देखि उडान बन्द गर्ने सरकारको निर्णय भएपनि आज भने कुनै पनि उडान रद्ध नगरिएको बताएको छ ।