कास्कीका १३८ सहित देशभर थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि,१८ जनाको ज्यान गयो

corona

साउन १७, कास्की,

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार १ हजार १३ जनाको नमुना परीक्षण गरिएकोमा थप ३३२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

थप संक्रमण पुष्टी हुनेमा कास्कीका १३८ सहित बाग्लुङका ९३ जना, गोरखाका ३६ जना, पर्वतका १९ जना, लमजुङका १४ जना, नवलपुर र म्याग्दीका एघारएघार जना, तनहुँका ५ जना, स्याङ्जाका ४ जना र मुस्ताङका १ जना रहेका छन् । प्रदेशका १० जिल्लामा १७३ पुरुष तथा १५९ जना महिलामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३६ जना संक्रमण मुक्त हुँदा प्रदेशमा थप ३ जनाको संक्रमणका कारण मृत्यु भएको छ । थप मृत्यु हुनेहरुमा कास्कीको पोखरा १६ का ५८ वर्षीय पुरुष, पोखरा २६ का ७३ वर्षीय पुरुष र गोरखाको पालुङटारका ७३ वर्षीय पुरुष रहेका छन् ।

यस्तै देशभर थप दुई हजार पाँच सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६ सय ३६ जनाको नमुना परीक्षण गर्दा कुल परीक्षणको २० प्रतिशतभन्दा धेरैमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट दुई हजार २० जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ३१ हजार दुई सय ९८ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

यही अवधिमा कोरोना सङ्क्रमणका कारण थप १८ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय ७५ जना पुगेको मन्त्रालयले जनाएको छ ।