आज साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिन (हरियो चुरा र मेहेन्दिको पर्व सुरु)

sarwan

साउन १, पोखरा,

आज साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिन । कुनै पनि ग्रह एउटा राशिबाट अर्को राशिमा जाने समयलाई सङ्क्रान्ति भनिन्छ । आज शुक्रबार सौर्यमान अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले यस दिनलाई कर्कट सङ्क्रान्ति पनि भन्ने गरिन्छ ।
कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।
साथै आजैबाट नारिहरुले साउन महिना भर सौभाग्यको प्रतिक हरियो चुरा र मेहन्दी लगाएर धान रोप्दा हिलोले बिगारेको हातको सृँगार गर्ने गर्दछन् । साथै साउन महिनाको हरेक सोमबार भगवान शिवको पुजा गरि ब्रत बसेमा सुख र सौभाग्य प्राप्त हुने पनि धार्मिक विश्वास रहिआएको छ ।साउन महिना भगवान शिवको महिना भएकोले पुरुषहरु समेत ऊँ नमः शिवायः लेखिएका पहेँला वस्त्र धारण गरि यो महिनाभर शिवालयहरुमा गई शिवको दर्शन गरेमा रोग व्याधि र कष्ट बाट छुटकारा मिल्ने विश्वास रहीआएको छ ।
यसैदिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन पनि रहेको छ । प्राचीन प्रचलनअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधीय बनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ ।
लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरजस्ता केही धार्मिक तीर्थस्थलमा सामाजिक रुपमा लुतो फाल्ने प्रचलन हालसम्म कायमै रहेको छ ।
बृहद् ज्योतिषसार नाम गरेको ज्योतिष ग्रन्थका अनुसार सोमवार, बिहीवार, बुधवार तथा शुक्रवार परेको सङ्क्रान्तिले मानिसमा सुस्वास्थ्य, दीर्घायु, एक–आपसमा प्रेम जस्ता कुराको वृद्धि गर्ने र सम्पूर्ण मनुष्य जगतको कल्याण हुने मानिन्छ ।
थारु समुदायले माघे सङ्क्रान्तिको दिनमा माघी पर्व मनाए जस्तै साउने सङ्क्रान्तिको दिनलाई पनि कगुरिया पर्वको रूपमा विशेष रूपले मनाउँछन् । र आजको दिन बैतडीको गुजरमा बनारसी पूजा लगायतका विभिन्न कर्महरू गरिन्छ ।