एमाले उपाध्यक्ष रावलद्वारा सांसद पदबाट राजीनामा

vim

साउन ३, काठमाण्डौ,

नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

सङ्घीय संसद भवन बानेश्वरमा पत्रकारसँग उहाँले सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । राजीनामाको वक्तव्य पढ्दै उहाँले उच्च नेतृत्वको स्वेच्छाचारी र अनैतिक राजनीतिको मतियार बन्नुभन्दा राजीनामा दिन उपयुक्त ठानेको बताउनुभयो ।

यसअघि एमाले सांसदहरुले रावलको राजीनामा रोक्ने प्रयास गरे पनि सफल भएनन्। माधवकुमार नेपाल समूहमा रहेका रावलले आफ्नो समूहका सांसदहरुको बैठकमा राजीनामा दिने घोषणा गर्नुभएको थियो । रावलले संसद भवन पुगेर पत्रकारअगाडि राजीनामा पत्र वाचन गर्न खोज्दा पनि सुरेन्द्र पाण्डे लगायतका नेताहरुले रोक्ने प्रयास गरेका थिए । रावल अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

यस्तो छ, रावलको राजीनामा:

सम्माननीय सभामुख ज्यु, प्रतिनिधि सभा सिंहदरबार काठमाडौँ ।

विषय राजीनामा

महोदय, झन्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौँ राजनीतिक आरोह अवरोह तथा घात प्रतिघात व्यहोरेको छु । र तिनको सामना गर्दै आएको छु । यो सबै मैले मातृभूमिको स्वाधीनता, स्वतन्त्रताका लागि गरेको थिए । तर राजनीतिक नेतृत्वको त्यसविपरितका काम हुँदै देश र जनतालाई अनेकौँ पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने किर्ते काम हुँदै गए ।

फलस्वरूप आज नेपाल र नेपालीहरूको शिर निहुरिँदै गएको छ । अझ केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पदलिप्सा तथा विधि र पद्धतिलाई आफ्नो उचित एवं निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी र निरंकुश तरिकाले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनैपनि सच्चा, देशभक्त र लोकतन्त्र प्रेमी नेपालीको मन रुन्छ ।

यस्ता विकृत तथा देश र जनताका हितविपरितका क्रियाकलापका विरुद्ध जुध्दै रोक्नका लागि जनप्रतिनिधि एवं राजनीतिक कर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरे । तर पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनर्स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हित भन्दा निजी स्वार्थ अहम्, प्रतिशोध चरित्र र कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरि सम्झने जुनसुकै नागरिकको मनमा घृणा उत्पन्न हुन्छ । यस्तो स्थितिमा अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा यसबाट अलग हुनु श्रेयस्कर भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।

भीमबहादुर रावल

सदस्य प्रतिनिधि सभा

अछाम निर्वाचन क्षेत्र नम्बर १