पोखरामा आईतबार पनि अन्तिम समयमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

khop karekaram

साउन ३, पोखरा,

कास्कीको पोखरा महानगरपालिका भित्र आज लगाउने भनिएको खोप कार्यक्रम स्थगित गरिएको छ । महानगर भित्रका खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउन लाईन बसिसकेका नागरिकहरु खोप कार्यक्रम स्थगित गरेको जानकारी पाएपछि आक्रोशित बनेका थिए ।

खोप लगाउन पुगेका मध्य एक वृद्धले भन्नुभयो ः शनिबार पनि खोप पाईएन, आज त झन लाईनमा बसि सकेपछि कार्यक्रम स्थगित भयो भन्छन् । यो नेपाल हो यहाँ माथिकाले जे गर्दा नि हुन्छ, जनताहरुलाई जसरि नचायो त्यसैगरि नाच्छन् । आक्रोशित हुँदै उहाँले थप्नुभयो ः यहि हो खोक्रो लोकतन्त्र र गणतन्त्र ।

पोखरामहानगरपालिकाका वडाहरुले ५५ देखी ६२ वर्षसम्मका वृद्धहरुलाई आइतबार बिहान १० बजेदेखी साँझ ४ बजेसम्म खोप लगाउनका लागि खोप केन्द्रमा पुग्न आग्रह गर्दै सूचना जारी गरेका थिए । स्वास्थ्यमन्त्रालयको निर्देशन भन्दै जनताहरु लाईनमा बसिसकेपछि खोप कार्यक्रम रद्य गरिँदा जनताको भावनामाथि सरकारले खेलबाड गरेको भन्दै स्थानियले आक्रोश पोखेका छन् । खोप लगाउन भनेर पोखरा ३० मा रहेको शिशुवा प्राथमिक स्वास्थ्य केन्द्र पुगेका सयौं वृद्धवृद्धा निराश र आक्रोशसहित फर्किएका थिए ।

आईतबारको खोप कार्यक्रम किन स्थगित भयो भन्ने हाम्रो प्रश्नमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले स्वास्थ्य मन्त्रालयका सचिवले टेलिफोन गरेर अहिले उक्त खोप नलगाउन भनेपछि कास्कीमा खोप अभियान रोकीएको बताउनुभएको छ ।

यता गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले कास्कीका खोप केन्द्रमा सरकारले तय गरे अनुरुपका उमेर समुहका भन्दा बाहिरकोलाई समेत खोप दिईएको पाईएकोले कार्यक्रम स्थगित भएको जानकारी दिएको छ । पोखरामा लक्षित वर्गमा खोप नपुगेको भन्दै विभिन्न समाचारहरु बाहिरिएपछि केन्द्र सरकारले उमेर अनुसारकै खोप लगाउन स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले निर्देशन दिएको हो ।

लक्षित वर्ग र उमेर समूह ५० देखि ५५ वर्षकालाई दिने भनेपनि स्थानीय तहमा पुग्दा विभिन्न सुविधाहरु प्रयोग गर्दै अन्य उमेर समूहलाई पनि खोप लगाइए पछि कार्यक्रम स्थगित भएको मन्त्रालयको भनाई छ ।

भोली अर्थात सोमबारदेखि ५० देखि ५५ वर्षकालाई मात्र खोप लगाइने र त्यसको तयारीका लागि आईतबारको खोप कार्यक्रम स्थगित गर्नुपरेको प्रदेश स्वास्थ्य मन्त्रालय गण्डकीका प्रवक्ता खिम खड्काले जानकारी दिनुभएको छ । यसअघि आवश्यक मात्रामा खोप नआईपुगेको भन्दै शनिबार पनि पोखरामा खोप कार्यक्रम स्थगित गरिएको थियो ।