
साउन ३०, काठमाडौं,
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको गलत प्रवृत्तिको विरुद्ध निरन्तर संघर्ष गर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंको अल्फा हाउस ब्याक्वेटमा ’कम्युनिस्ट आन्दोलन, अवसर र अवसरवाद’ नाममा आयोजित कार्यक्रममा उहाँले त्यस्ता विरुद्ध सम्झौता नगर्ने प्रष्ट पार्नुभएको हो ।
कम्युनिस्ट आन्दोलनभित्र थुप्रै समस्याहरु रहेको भन्दै नेपालले भन्नुभयो ः ’चुनौतिबिनाको कुनै पनि पार्टी छैन । तर नेपाल कम्युनिस्ट आन्दोलनको सामु निकै ठूलो सम्भावना छ । जनविश्वास अलिकति खस्किएको भएता पनि फेरि पनि मैदान खालि नै छ । त्यसैले समयमै हाम्रो आँखा खुल्नुपर्दछ’,
उहाँले नेकपा एमालेलाई अवसर प्राप्त भएको भए पनि गुमाएको भन्दै व्यक्तिवाद र अहंकार हाबी भैदिँदा नीतिगत र कार्यशैलीमा धेरै खालका विकृति र विसंगति देखा परेको उल्लेख गर्दै यस्ता समस्यासँग जुध्ने कि त्यसैको मुनि छिर्ने भन्ने प्रश्न उब्जिएको बताउनुभयो ।
उहाँले खराब प्रवृत्तिलाई सहयोग पुग्ने काम नगर्ने भन्दै बरु त्यसका विरुद्धमा निरन्तर संघर्ष जारि राख्ने बताउनुभयो ।