थापालाई गृहमन्त्री बनाईनु आचारसंहिता विपरित

rambahadur-thapa

जेठ १, कास्की,

रामबहादुर थापा बादलले पुनः गृहमन्त्रीमा नियुक्ति लिएर कार्यभार सम्हाल्नु कानूनको बर्खिलापमा भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताउनुभएको छ ।
जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उप–निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका मन्त्री थापा सहित उपनिर्वाचनमा खिमलाल देवकोटा र कृष्णबहादुर तमाङको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले वैशाख २९ गतेदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरिसकेको छ । निर्वाचन सम्पन्न नहुँदासम्मका लागि बागमती प्रदेशभर आचारसंहिता लागू हुन्छ । निर्वाचन आचारसंहिता, २०७२ मा नेपाल सरकार र सरकारका मन्त्रीलगायतलाई आचारसंहिता लागू हुने स्पष्ट उल्लेख गरिएको छ ।

तर जिम्मेवार कार्यकारीहरूबाटै आचार संहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगका पूर्व पदाधिकारीहरूले असन्तुष्टी व्यक्त गरेका छन् । पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले संविधाननै मिच्न प्रयास गर्ने ठाउँमा निर्वाचन आचारसंहिता मिचिनु स्वभाविक भएको भन्दै व्यङ्ग्य गर्नुभयो ।

उम्मेदवार जोसुकै भए पनि उजुरी परेको खण्डमा छानविन गरिने र दोषी पाइए कारबाही गर्ने आयोगका अधिकारीहरुले बताएपनि औपचारिक रूपमा भने आयोग अहिलेसम्म मौन रहेको छ ।