वैदेशिक रोजगारीमा जानेलाई जोन्सन एण्ड जोन्सन कै खोप दिईने

rojgar bivaag

असार ३०, काठमाण्डौ


वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एण्ड जोन्सन खोप दिन कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीलाई पत्राचार गरेको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोप दिने निर्णय गरेपछि बुधबार श्रम सचिव स्तरीय निर्णय गरी जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराउन पत्राचार गरिएको विभागमा महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा जानेहरू तत्काल जानु पर्ने र कतिपय देशले भेरोसेल खोपलाई मान्यता समेत नदिएकाले एक डोज मात्र लगाए पुग्ने भएकाले जोन्सन एण्ड जोन्सन खोप लगाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।
सरकारले असार २८ गते खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई भेरोसेल खोप लगाउने निर्णय गरेको थियो भने अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सन खोपको प्राथमिकतामा भने नेपालमा रहेका शरणार्थीलाई समेत राखेको थियो ।
शरणार्थीलाई एक डोज लगाउँदा पुग्ने जोन्सन एण्ड जोनसनको र विदेशमा काम गर्ने नेपालीलाई चार हप्ताको अन्तरमा लगाउनुपर्ने भेरोसेल खोप दिने सरकारी निर्णयको व्यापक आलोचना भएको थियो ।