प्रदेश र पालिकाको अधिकार सङ्कुचित गरेको भए सच्याइने

janardan file pc

साउन २८, काठमाण्डौ,

अर्थ मन्त्री जनार्दन शर्माले प्रदेश र पालिकाको अधिकार कहीँ कतै सङ्कुचित भएको भए प्रतिस्थापन विधेयकद्वारा सच्याइने बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गरिसकेपछि त्यसबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थ मन्त्री शर्माले अध्यादेश बजेटमा प्रदेश र पालिकाको अधिकार सङ्कुचित हुने खालका कार्यक्रम भेटिए सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

कतिपय योजनामा नीतिगत समस्या हुँदा सङ्घ र प्रदेशबीच द्विविधा हुने गरेको भन्दै उहाँले अब प्रदेश र पालिकालाई सङ्घीयताको मर्मअनुसार अधिकार सम्पन्न गरिने बताउनुभयो । मन्त्री शर्माले आर्थिक जानकारी पत्रमा कुनै तथ्याङ्क फरक परे त्यसको आफूले जिम्मा लिने बताउनुभयो ।

मन्त्री शर्माले आफूले कुनै पनि तथ्याङ्क राजनीतिक पूर्वाग्रह राखेर प्रस्तुत नगरेको जिकिर गर्दै विगत सरकारले गरेका राम्रा कामको तथ्याङ्क पनि समावेश भएको जानकारी दिनुभयो ।

अर्थ मन्त्री शर्माले आफूले प्रतिस्थापन विधेयकमार्फत ल्याउने बजेटमा केही परिमार्जन हुने जानकारी दिँदै राष्ट्रिय गौरवका आयोजना र क्रमागत योजनालाई निरन्तरता दिइने प्रष्ट पार्नुभयो ।