मन्त्रीपरिषद् विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाको लाजलाग्दो प्रचारशैलीको पार्टीभित्रै आलोचना

deuwa

साउन २४, कास्की,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद सम्हालेको एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता नपाउँदा देउवाको आफ्नै पार्टिका नेताहरुले समेत आलोचना गरेका छन् ।

कोरोना महामारीले दैनिक दर्जनौं नागरिक अनाहकमा मृत्युको मुखमा पुग्दा स्वास्थ्य जस्तो मन्त्रालयमा मन्त्री नियुक्त गर्न नसक्ने प्रधानमन्त्री देउवाको पछिल्लो समय सामाजिक सञ्जालहरुमा भएको लाजमर्दो प्रचारबाजिले आफ्नै नेता तथा कार्यकर्ताले तिब्र आलोचना गरेका हुन् ।

स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएका उमेश श्रेष्ठप्रति उहाँकै पार्टी कांग्रेस र आमजनमानसबाट तीब्र आलोचना भएपछि गठबन्धनको बैठकमा प्रधानमन्त्री स्वयंले आत्मालोचना समेत गर्नुपरेको छ ।

प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका नेता केपी ओली नेतृत्वको सरकारलाई अपदस्थ गर्दै एमालेकै माधव नेपाल पक्ष, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र जनमोर्चा नेपालको सहयोगमा प्रधानमन्त्री बन्नुभएका देउवाले गठबन्धनमा सहमति नजुट्दा मन्त्रिपरिषद विस्तार गर्न नसक्नुभएको हो ।

आधिकारिक रुपमा आफ्नो सचिवालयसम्म गठन नगर्नुभएका देउवाका पक्षमा उहाँनिकट मानिसहरुको भनाइ राख्दै ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने’ भन्ने‘ भिडियो प्रचार थालिएपछि झनै त्यसको समेत आलोचना भएको छ । अरु त अरु स्वयं देउवानिकट महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मासमेतले यस्तो प्रचारले पार्टी र देउवा स्वयंलाई क्षय गराउने भन्दै सस्ता प्रचार बन्द गर्न सार्वजनिक रुपमै आह्वान गरिसक्नुभएको छ ।

प्रधानमन्त्री भएलगत्तै फेसबुक, ट्वीटरका अलवा इन्स्टाग्राम, टिकटिकसमेतमा खाता खोल्नुभएका देउवाको प्रचार ती माध्यमबाट थालिएको छ । जसमा देउवालाई बीपीपछिको महान् नेताका रुपमा प्रचार गरिएको छ ।