नेपालमा देखा परेको कोरोनाको नयाँ भेरियन्ट बढी सङ्क्रामक

new verint

जेठ ५, काठमाण्डौ,

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ भाइरसको नयाँ (तेस्रो) भेरियन्ट निकै सङ्क्रामक रहेको बताएको छ ।

नेपालमा गएको हप्ता कोभिड–१९ सङ्क्रमितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिङ गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा (१ वटा) बि.१.६१७.१ पुष्टि भएसँगै नेपालमा कोभिड–१९ को तेस्रो भेरिएन्ट फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि (हिजो) मङ्गलबार एक विज्ञप्ति निकाल्दै नेपालमा तेस्रो भेरियन्ट रहेकोबारे जानकारी गराइसकेको छ ।

यसै सन्दर्भमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यसअघि देखा परेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी सङ्क्रामक रहको बताएको छन् । बुधवार पत्रकारहरुसँग कुरा गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डाक्टर कृष्ण पौडेलले सुरुमा बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी सङ्क्रामक रहेको बताउनुभयो । यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समूहमा उच्च सङ्क्रमण रहेको पनि उहाँले जानकारी दिनुभयो ।

डा. पौडेलले अहिले कोभिड विरुद्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रूपमा यस भेरियन्टको जटिलता कम गर्न र मृत्यु दर कम गराउन प्रभावकारी हुने पनि बताउनुभयो ।

उहाँले सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने तथा सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्ड पालना गरेरमात्रै कोभिड– १९ को तेस्रो भेरियन्टबाट बच्न सकिने भन्दै जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने पनि बताउनुभयो ।