बैशाखदेखि अहिलेसम्म बाढिपहिरोमा परि ६३ जनाको मृत्यु, ३५ बेपत्ता, ५ सय ६५ निजी आवास पूर्ण रूपमा क्षति

badhi

साउन ५, कास्की,

यस वर्षको मनसुनबाट अहिलेसम्म ४८ जिल्ला प्रभावित भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले मनसुनबाट सिर्जित बाढि पहिरोमा परेर ६३ जनाको मृत्यु हुनुका साथै ३५ जना अझै बेपत्ता रहेको र ६३ जना घाइते भएको जानकारी दिनुभयो ।

त्यस्तै ५ सय ६५ निजी आवास पूर्ण रूपमा क्षति भएको, १ सय ५५ घर आंशिक रूपमा क्षति भएको तथा ३७ सरकारी भवन र १२ वटा सामुदायिक भवन तथा विद्यालय क्षति भएको पनि उहाँले बताउनुभयो । निर्माणाधिन र निर्माण सम्पन्न भइसकेका २५ जलविद्युत आयोजना, ७ वटा काठेपुलसहित २६ वटा मोटरेबल पुल र २५ वटा झुलुङ्गे पुलमा क्षति भएको पनि प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

गत वर्षको मनसुनबाट क्षति भएका २२ जिल्लाका ४ हजार ९ सय ३७ लाभग्राहीको लागि २९ करोड ९९ लाख २६ हजार २५० रुपैयाँ रकम अवास निर्माण, पुनर्निमाण, पुनस्र्थापना र प्रवलीकरणका लागि निकासा गरिएको पनि उहाँले बताउनुभयो । यस आर्थिक वर्षमा भने विभिन्न ८ जिल्लाका ५ सय ७३ लाभग्राहीका लागि २ करोड ८६ लाख ५० हजार रुपैयाँ तत्कालै अस्थायी आवास निर्माणका लागि सम्बन्धित जिल्ला विपत व्यवस्थापन समितिको कोषमा रकम निकासा गरिसकिएको अर्यालको भनाइ छ ।

प्राधिकरणले हाल मनसुनबाट भएको क्षतिको विवरण देशभरबाट संकलन गरिरहेको छ । विपद परेका जिल्लाहरु सिन्धुपाल्चोक, मनाङ, गोरखा, बाजुरा, गुल्मी, अर्घाखाँची, धादिङ, ताप्लेजुङ र पाँचथरमा टेण्ट, त्रिपाल, कम्बल, स्लिपिङ ब्यागहरु र माग भए अनुसारका सामग्रीहरु पठाइएको पनि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।