नेपाली नागरिकको जित भयो : एमाले वरिष्ठ नेता नेपाल

madhav-_kumar-_nepal

साउन ४, काठमाण्डौ,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निरङ्कुश प्रवृत्तिको पराजय र नेपाली नागरिकको जित भएको बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पाएपछि उहाँले नेपाली नागरिक, लोकतन्त्र र संविधानको जित भएको बताउनुभएको हो ।

नेता नेपालले भन्नुभयो, ‘संसदको यो निर्णयले पटक–पटक भएको प्रतिनिधि सभा विघटन गलत भएको पुष्टि भएको छ । ‘यो प्रतिनिधि सभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो, तर त्यो असफल भइ निरङ्कुश प्रवृत्तिमा अङ्कुश लागेको छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो ।

मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिनुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एक जना सांसदले मतदान नगर्नुभएको जानकारी दिनुभयो ।

विश्वासको मत पाएपछि देउवालाई सांसदहरुले बधाई तथा शुभकामना दिएका थिए । भने राष्ट्रिय र अन्तराष्ट्रि स्तरबाट देउवालाई बधाई आउने क्रम जारी रहेको छ । भारतीय समकक्षी नरेन्द्र मोदिले गएराति नै ट्विट गरि देउवालाई बधाई दिनुभएको थियो ।