
बैशाख २४, काठमाण्डौ,
प्रधानमन्त्री केपी शर्मा ओली र निलम्बनमा पर्नुभएका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले ओली र नेपालबीच भेटवार्ता हुने प्रवल सम्भावना रहेको जानकारी दिनुभयो । आज भेट्ने भन्नेमा दुई नेता राजी भएको तर ठ्याक्कै समय भने टुङ्गो नलागेको दुगडले बताउनुभयो ।
विगतमा भएका तीता कुरा बिर्सिँदै एक भएर अघि बढ्नुको विकल्प नरहेको भन्दै आज दुईजना विच भेट गराएरै छाड्ने दुगडले बताउनुभएको छ । भेटवार्ता पार्टी कार्यालय थापाथली वा कुनै होटलमा हुन सक्ने उहाँको भनाइ छ ।
दुई नेताबीच कुरा नमिल्दा एमाले नै फुटतर्फ गएकोले एमाले एकजुट बनाउनको लागि बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेता नेपालसँग छलफल गर्नुभएको थियो । यस्तै नेता घनश्याम भुसाल, योगेश भट्टराईसँग प्रधानमन्त्रीले कुराकानी गर्नुभएको थियो । मध्यम तहका नेताहरुबीच पनि छलफल भइरहेको बताईएको छ ।