भूमि आयोग खारेज गर्ने निर्णय फिर्ता होस् : नेकपा एमाले

umla

साउन २०, काठमाण्डौ,

नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई खारेज गर्ने निर्णय सच्याउन सरकारसँग माग गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज बुधवार विज्ञप्ति जारी गर्दै आयोग खारेज गरी नागरिकको अपेक्षा र अधिकारमाथि प्रहार गर्ने सरकारको निर्णय अविलम्ब सच्याउन माग गर्नुभएको हो ।
भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोवासीको लगत सङ्कलन पूरा भएर वर्षौंदेखि जारी यस समस्याको दिगो समाधान हुने दिशातिर अगाडि बढिरहेका बेला आयोग विघटन गर्ने सरकारको निर्णयले देशका लाखौँ भूमिहीन तथा सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोवासीको जमिनको अधिकारसम्बन्धी मौलिक हकमाथि कुठाराघात भएको विज्ञप्तिमा जनाइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरिएको थियो । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले हिजो मङ्गलवार आयोग खारेज गर्ने निर्णय गरेको थियो ।