साउन १२ गते हुने भनिएको कांग्रेसको वडा अधिवेशन स्थगित

image

साउन ९, काठमाण्डौ,

नेपाली कांग्रेसको वडा अधिवेशन तत्कालको लागि स्थगित भएको छ । शनिबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशनको तयारी नपुगेको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।

प्रधानन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । अधिवेशनको अर्को मिति छिटै तोकिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ । तर, क्रियाशील सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल सुरु भएको छ ।

वडाको अधिवेशन स्थगित भएपनि अरु अधिवेशनको तालिकाको बारेमा अहिले कुनै निर्णय नभएको प्रवक्ता शर्माले बताउनुभयो । बैठकले क्रियाशील सदस्यताको विषयलाई लिएर पार्टी कार्यालयमा धर्नामा बसेका नेता तथा कार्यकर्ताहरूको गुनासो सम्बोधन गर्ने निर्णय पनि गरेको छ ।