भदौ ५, कास्की,
गण्डकी प्रदेश सरकारको आम्दानीभन्दा पनि चालु खर्च बढिरहेको भन्दै गण्डकी प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिले आन्तरिक आम्दानीतर्फ दायरा बढाउन अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ ।
शुक्रबार बसेको समितिको वैठकमा सांसदले आम्दानीभन्दा पनि प्रदेश सरकारको चालु खर्च बढी भएकाले संघीयतामाथि नै प्रश्न उठेको भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताएका थिए ।
समिति सभापति दीपक कोइरालाले प्रदेश सरकारको आफ्नै आम्दानी नभएको र संघीय सरकारको आम्दानीमा भर पर्नुपर्ने भएकाले आम्दानीबारे अध्ययन गर्न निर्देशन दिए । प्रदेश सरकारले आफ्ना स्रोत के–के हुन् भन्ने पहिचान गरी कार्यान्वयनमा लैजान कोइरालाले मन्त्रालयको ध्यानाकर्षण गराए ।
समितिले गत आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था र चालु आवको बजेट कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा छलफल चलेको थियो । सांसद इन्द्रलाल सापकोटाले प्रदेश संरचनाको विरोध भइरहेको बेला सरकारले जनतामुखी बजेट नल्याएको आरोप लगाए ।
सापकोटाले प्रदेशको अधिकार के हो ? आम्दानी कसरी गर्ने ? स्रोत केके हुन ? कुनकुन क्षेत्रको राजस्व प्रदेश सरकारले उठाउने भन्ने विषयमा छलफल आवश्यक रहेकोमा जोड दिए ।
राजस्व उठ्ने ठूलो क्षेत्र नदीनाला रहेको बताउदै सांसदले यसको अधिकार क्षेत्रबारे पनि तीन तहकै सरकारबीच छलफल र समन्वय हुनुपर्ने बताए । समितिमा चालुखर्च घटाउन र आम्दानी बढाउनतर्फ पहल गर्नुपर्ने सुझाव दिइएको थियो । कान्तिपुर