पूर्व–पश्चिम राजमार्ग जीर्ण : यात्रु सहित स्थानियलाई सास्ती

sadak-marmat 3

साउन १५, नवलपुर,

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर खण्ड जीर्ण हुँदा यात्रु सहित स्थानियले सास्ती खेप्नुपरेको छ । राजमार्गमा भएका ठूलाठूला खाडलले दुर्घटनाको जोखिम बढाएको छ भने धुलाम्मे सडकका कारण स्थानिय व्यवसायिहरुलाई समेत सास्ति भएको छ ।

पूर्व–पश्चिम राजमार्गलाई चार लेनको सडकका रुपमा विस्तारको योजना अनुसार अहिले नारायणगढ–बुटवल खण्ड विस्तारको क्रममा रहेको छ । चिनियाँ कम्पनीसँग राजमार्ग विस्तारको ठेक्का सम्झौता भएपछि मुख्य राजमार्ग मर्मतको काम रोकिएको हो ।

ठेक्का सम्झौताअघि राजमार्ग मर्मतको काम सडक विभागले गर्दै आएकोमा सम्झौतापछि विभागले मर्मत गर्न छाडेको र चिनियाँ कम्पनीले समेत आफ्नो योजना अनुसारको मात्रै काम गर्दा राजमार्ग जीर्ण बनेको हो ।

नवलपुरका मुख्य बजार क्षेत्र गैँडाकोट, कावासोती, चोरमारा, अरुणखोला, दुम्किबासमा जीर्ण सडकका कारण वर्षामा हिलो र हिउँदमा धुलोले व्यापार व्यवसायमा समेत असर गरेको व्यवसायी गणेश पाण्डेले बताउनुभयो ।

राजमार्गमा परेका खाडलहरु पुर्न र विभिन्न स्थानमा वाढिले क्षति पुर्याएका डाइभर्सन बनाउन आफूहरुले चिनियाँ कम्पनीलाई ताकेता गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख नारायण थापाले बताउनुभयो ।