सांसदहरुद्धारा एमसिसि, सुकुम्बासी समस्या देखि ब्रिटिस आर्मीका परिवारको आमरण असनबारे सरकारको ध्यानाकर्षण

meeting

साउन २९, कास्की,

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद निरुदेवी पालले एमसीसी कुनैपनि हालतमा मान्य नहुने बताउनुभएको छ । उहाँले विकासका नाममा बाह्य शक्तिको हस्तक्षेप सैह्य नहुने बताउनुभयो ।

एमसिसी परियोजनाका लागि मागिएको भूभाग र स्रोतमा अर्को कुरा गर्न नपाउनेगरी कानूनी रुपमा हस्तान्तरण गर्न भनिएको बुँदाप्रति संकेत गर्दै सांसद् पालले एमसीसी पारित भएको खण्डमा नेपाल सरकारले यसबारे कुनै जानकारी लिन चाहेमा एमसिसीबाट अनुमति लिनुपर्ने प्रावधानको बारेमा स्मरण गराउनुभयो । उहाँले यिनी आधारहरुका कारण एमसीसी खारेज हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद नारदमुनि रानाले स्वास्थ्य सामग्री सहयोगका निम्ति अमेरिकन सेनाहरु जिल्ला–जिल्ला घुमिरहेको भन्दै यसबारे सरकार बेखबर रहेको बताउनुभयो ।

सांसद दलबहादुर रानाले सरकारले एक महिनामा २५ जना मन्त्री छान्न पनि नसकेको टिप्पणी गर्नुभयो । वर्तमान सरकारले सुकुम्बासीलाई लालपुर्जा दिने मनसाय नराखेको पनि उहाँको आरोप थियो ।

सांसद दामोदर भण्डारीले दार्चुलामा तुइन तर्नेक्रममा बेपत्ता जयसिंह धामी प्रकरणको १५ दिन बितिसक्दा पनि सरकारले कुटनीतिक पहल र वार्ता नगरेको बताउनुभयो ।

सांसद दिलेन्द्र प्रसाद बडुले दार्चुला तुइन प्रकरणको सत्यतथ्य शीघ्र सार्वजनिक गर्न माग गर्नुभयो ।

सांसद डा. डिला संग्रौला पन्तले गोरखा सैनिकहरू विभिन्न माग राखी बेलायतमा आमरण अनसन बसिरहेको प्रति नेपाल सरकारकोप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउँदै कुटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग वार्ता गर्न सरकारसँग माग गर्नुभयो ।