समय घर्किसकेकाले प्रि–बजेटमाथि छलफल नहुने

sanghaghiya

जेठ ३, काठमाण्डौ,

सङ्घीय संसद् सचिवालयले अब प्रि–बजेटमाथि छलफल चलाउन नसकिने बताएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गतेभित्रमा बजेट ल्याइसक्नुपर्ने र अब समय घर्किसकेकाले प्रि–बजेटमाथि छलफल चलाउन नसकिने संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

प्रवक्ता पाण्डेले नीति तथा कार्यक्रम र बजेटका कुरामा दलीय सहमति गरी छलफल छोटो बनाएर काम गर्न सकिने बताउनुभयो । बजेट अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । तर अहिलेसम्म सरकारले बजेट अधिवेशन आह्वान गरेको छैन ।

प्रवक्ता पाण्डेले कोरोना सङ्क्रमण महामारी तीव्र रूपमा बढ्दै गएकाले भर्चुअल बैठक सञ्चालन गर्नुपरेमा पनि त्यस किसिमको प्राविधिक तयारी सचिवालयले गरेको बताउनुभयो । तर भर्चुअल बैठकका लागि कानुनी संरचनाले वाधा पु¥याउने उहाँले बताउनुभयो ।

संविधान र सङ्घीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्य सञ्चालन नियमावलीले भौतिक रूपमा उपस्थित भएर बैठक सञ्चालन गर्ने कुरालाई मात्रै आधिकारिक मानिने र उपस्थितिका लागि हस्ताक्षर गर्नैपर्ने भएकाले भर्चुअल बैठकलाई कानुनी मान्यता दिने अवस्था नरहेको उहाँले बताउनुभयो । तर आवश्यक कानुनी व्यवस्था भएमा प्राविधिक रूपमा सचिवालय दुरुस्त रहेको प्रवक्ता पाण्डेले बताउनुभयो ।