उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन पूर्व अर्थ मन्त्रीहरूको सुझाव

arthamantriharu

साउन २२, काठमाण्डौ,

पूर्व अर्थ मन्त्रीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रवारको बैठकमा बोल्दै पूर्व अर्थ मन्त्रीहरू डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र वर्षमान पुनले निर्यातमूलक उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन सरकारसँग आग्रह गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष भट्टराईले कर्जाको अभावमा अघि बढ्न नसकेका ग्रामीण क्षेत्रमा लगानीको वातावरण हुने गरी लगानी केन्द्रित नहुँदा बैंक मोटाउने तर देश र नागरिक गरिब हुँदै जाने अवस्था आएको उल्लेख गर्दै त्यसको अन्त्य हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।

त्यस्तै नेकपा एमालेका नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले निर्यातमूलक र उत्पादनमूलक क्षेत्रमा लगानी गरी, अनुचित खर्च कटौती गर्न, घर र सवारीमा गरिएको कर्जा प्रवाह कम गर्दै लैजाने गरी मौद्रिक नीति ल्याउन पनि नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व अर्थ मन्त्री वर्षमान पुनले शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई सहजीकरण गरेर देशलाई आर्थिक रूपले सबल बनाउने गरी अघि बढ्न नेपाल राष्ट्र बैैंकलाई आग्रह गर्नुभयो ।