सिन्धुपाल्चोक बाढी : सम्हेलिन नपाउँदै फेरी अर्को कहर

rato pul

साउन १८, सिन्धुपाल्चोक,

सिन्धुपाल्चोकको भेमाथाङमा गएको असार १ मा बाढीसँगै आएको पहिरोले क्षति पुर्‍याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र करौडौँ रुपैयाँ बराबरका खेत बगाएको छ । बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढी पीडित फेरि विस्थापित भएका छन् ।

हेलम्बु १ की आशा लामा भन्नुहुन्छ, बस्ने ठाउँ नभएर होस्टेलमा बसेका थियौँ, यहाँ पनि जोखिम बढ्यो, अब कहाँ बस्ने रु उहाँजस्तै ९० परिवार घर असार १ को पहिरोले पूर्ण क्षति भएर पाल, टहरा र आफन्तकामा आश्रय लिएर बसेका छन् । हेलम्बुकै सरस्वती मगर घाम र पानीका बेला पालमा जीवन गुर्जान गाह्रो भएको गुनासो गर्नुहुन्छ ।

मेलम्ची बजारवासीको पनि उस्तै पीडा छ । केही आफ्ना घर, पसल सफा गरी सरिसकेका थिए तर शनिवारको बाढीपछि उनीहरू फेरि सुरक्षित ठाउँतर्फ लागेका छन् । शनिवार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका २० घर टहरा बगाएको छ । पक्की र कच्ची गरी २० घर टहरा बगाएको र तीन घर डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० राजन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार असार १ गते आएको बाढीले लेदो भरिएका घर फेरि हिजो रातिको बाढीले बगाएको हो । ती घर खाली थिए । बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितले दिनुभएको जानकारीअनुसार राति सवा आठ बजेतिर पुल बगाएको हो । मेलम्ची ७ र ८ पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पको यो पुल थियो । पुल बगाएसँगै अब यो भेगमा सवारी साधनको आवतजावत बन्द भएको छ ।

त्यस्तै ग्यालथुमको एउटा झोलुङ्गे पुल बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । अहिले ग्याल्थुमका ४० घर जोखिममा छन् । अब मेलम्ची बजारदेखि माथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनुभयो । खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उहाँको भनाइ थियो ।

हेलम्बु राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बुमा सवारी साधन जान नसकेको त्यहाँका मेयर डम्बर अर्यालले जानकारी दिनुभयो ।

जोखिम घटने स्थिति छैनः शेर्पा

बाढीग्रस्त क्षेत्रको मुहान हेलिकप्टरमार्फत पुगेर अनुगमन गरी काठमाण्डौ फर्किनुभएका गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले तत्काल पहिरोको जोखिम घटने स्थिति नभएको बताउनुभयो ।

मेलम्ची करिडोरका बासिन्दालाई तत्काल अन्यत्र सुरक्षित ठाउँमा सार्नुको विकल्प नभएको उहाँको भनाइ थियो । लेदो भीमथाङबाट बग्ने क्रम जारी छ, वैकल्पिक बसोबासका लागि म प्रयासरत छु, यही क्रममा गृह मन्त्रीसँग वस्तुस्थितिको जानकारी गराइसकेको छु । प्रधानमन्त्रीसँग समेत भेटेर जानकारी गराउनेछु, उहाँले भन्नुभयो । त्यहाँको पहिरो रोक्नका लागि सरकारले विज्ञ पठाएर अनुसन्धान गर्नुपर्ने उहाँको माग थियो ।

विज्ञसहितको टोली भेमाथाङ पठाइने

गृह मन्त्री बालकृष्ण खाँडले मेलम्ची नदीमा आएको बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञको टोली पहिरो उद्गमस्थल भेमाथाङ पठाउन निर्देशन दिनुभएको छ ।

वाग्मती प्रदेश सभा सदस्य निमा लामाका अनुसार पहिरोको उद्गमस्थल पुगेर त्यहाँको अवस्थाबारे अध्ययन गर्न राष्ट्रिय विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई गृह मन्त्री खाँडले निर्देशन दिनुभएको हो ।

चनौटेमा तत्काल बेलिब्रिज निर्माण गरिने

हेलम्बु गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने चनौटेको रातोपुलको ठाउँमा तत्काल बेलिब्रिज निर्माण गरिने भएको छ । बाढीले आइतवार बिहान यो पुल बगाएको थियो ।

नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले नेपाल सरकारको सहयोगमा तत्काल आवतजावतका लागि सहजीकरण गर्ने उद्देश्यले बेलिब्रिज निर्माणका लागि पहल गरिने बताउनुभएको हो । बाढीबाट भएको क्षतिबारे प्रधानमन्त्री तथा गृह मन्त्रीलाई जानकारी गराइएको बताउँदै उहाँले तत्काल पुल निर्माण सुरु गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।