चुरे क्षेत्रमा कुनै पनि प्रकारका उत्खनन हुँदैन : अर्थ मन्त्री पौडेल

bishnu_poudel_budget

जेठ २४, काठमाण्डौ,

अर्थ मन्त्री विष्णुप्रसाद पौडलले चुरे क्षेत्रमा कुनै पनि प्रकारका उत्खनन नहुने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको बजेट कार्यान्वयनका चुनौती र तिनका समाधानका विषयमा गरेको भर्चुअल छलफल कार्यक्रममा बोल्दै अर्थ मन्त्री पौडेलले सरकार चुरेको संरक्षणमा प्रतिबद्ध रहेको बताउँदै त्यस क्षेत्रको एक डोको माटो पनि नझिकिने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, चुरे संरक्षण नेपाल र नेपालीको सुन्दर भविष्यका निम्ति चुरेको संरक्षण सर्वाधिक महत्त्वपूर्ण विषय हो । चुरे क्षेत्रमा हामीले कुनै पनि प्रकारले उत्खननका काम नगर्ने, माटो, ढुङ्गा, गिट्टी, बालुवा, कुनै पनि चिज उत्खनन नगर्ने, चुरे क्षेत्रको सम्पूर्ण रूपमा संरक्षण गर्ने दृष्टिकोण अघि सारिएको छ । चुरे, शिवालिक, भावर क्षेत्रबाट, नदी क्षेत्रबाट हामी एक डोको माटो वा एक डोको गिट्टी वा बालुवा पनि हामी उठाउँदैनौँ ।

छलफलमा मन्त्री पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट कार्यान्वयन गर्न सरकारले ठोस पहलकदमी लिने बताउनुभएको छ । उहाँले आउँदो आर्थिक वर्षका निम्ति ल्याइएको बजेट कार्यान्वयन हुने बताउनुभयो ।

चुनावी सरकारले ल्याएको बजेट कार्यान्वयन हुन कठिन हुन सक्ने आशङ्का गरिएकोप्रति लक्षित गर्दै उहाँले बजेट कार्यान्वयन र चुनावको विषय सँगसँगै अगाडि बढ्ने बताउनुभयो ।