असारदेखि निषेधाज्ञा खुकुलो बनाउने सरकारको तयारी, प्रहरीलाई छल्दै निषेधाज्ञाको उल्लंघन गर्दै सर्वसाधारण

nised

जेठ २५, पोखरा,

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ ।

गृह मन्त्रालयका अनुसार देशभर लगाइएको निषेधाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने जनाइएको छ । गृहका प्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ लिने काम भइरहेको जानकारी दिनुभयो ।

सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको उहाले बताउनुभएको छ । आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्ने प्रवक्ता दाहालको भनाई छ ।

कोरोनाको पहिलो लहरमा लगाइएको लकडाउन एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह प्रवक्ता दाहालले यसपालि भने त्यो गल्ती नदोहोरिने स्पष्ट पार्नुभयो ।

त्यस अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकुदका गतिविधिमा भने रोक लगाईने उहाँको भनाई छ ।

मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने सरकारको योजना रहेको दाहालले बताउनुभयो । निषेधाज्ञा उलङ्घन गर्दै यही २० गतेदेखि भने देशभर नै मानिसको चहलपहल बढेको पाइएको छ । यातायातका साधनसमेत बाक्लिएका छन् । कास्कीको पोखरामा समेत त्यो अवस्था देखिएको छ । तर जोखिम कायमै रहेकाले अझै एक महिना विशेष ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले बताउनुभएको छ ।

दोस्रो कोरोनाको लहरसँगै कास्कीमा आउँदो जेठ ३१ गतेसम्म निषेधाज्ञा जारि रहेपनि पछिल्ला दिनमा सडकमा निजि सवारि वाक्लै चलेका छन् भने विभिन्न व्यपार व्यवसाय पनि प्रहरीको आँखा छल्दै सञ्चालन गर्ने कार्य बढेको पाईएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवर आदेशको पूर्ण कार्यान्वयनमा ७७ वटै जिल्लाका प्रहरी खटिए पनि अझै पनि मानिस आफ्नो स्वास्थ्यका लागि सचेत नभएको भन्दै प्रहरी देखे मात्रै मानिस सचेत हुने त्यसपछि लापर्बाही गर्ने क्रम कायम रहेको बताउनुभयो । चिकित्सकले आफूबाहेक सबै कोभिड सङ्क्रमित हो भनेर व्यवहार गर्न नागरिकसँग अनुरोध गरिरहेका छन् ।