सातै प्रदेशद्धारा प्रस्तुत बजेटमा कोरोना रोकथामलाई प्राथमिकता

bajet 1

गण्डकीको ३० अर्ब ३ करोड,वाग्मतीको ५७ अर्ब ७२ करोड, सुदूरपश्चिमको ३० अर्ब ३३ करोड, लुम्बिनीको ४० अर्ब ९५ करोड, कर्णालीको ३६ अर्ब ५४ करोड, प्रदेश १ को ३२ अर्ब ४६ करोड, प्रदेश २ को ३३ अर्ब ७९ करोड


असार १, पोखरा,


प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख रुपैयाँ र पुँजीगततर्फ १४ अर्ब पाँच करोड ३५ लाख रुपैयाँ विनियोजन गर्नुभएको हो ।

प्रदेश १ सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । आउँदो वर्ष स्वास्थ्यतर्फ तीन अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले सार्वजनिक गर्नुभएको बजेटमा कोरोना महामारी रोकथामका लागि अक्सिजन सिलिन्डर, रेम्डेसिभिर, कोरोना परीक्षण गर्ने किटलगायत स्वास्थ्य सामग्री खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ । बजेटमार्फत प्रादेशिक अस्पताल जनकपुरधामलाई उपकरण खरिद गर्न १९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै वाग्मती प्रदेश सरकारले ५७ अर्ब ७२ करोड नौ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले ५७ अर्ब रुपैयाँभन्दा धेरैको बजेट सार्वजनिक गर्नुभएको हो । वाग्मती प्रदेश सरकारले बजेटमार्फत सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि दुई अर्ब रुपैयाँ बजेट छुट्याएको छ । यस्तै कोभिड—१९ का कारण आमाबाबु दुवै गुमाएका बालबालिकालाई पालिकासँगको सहकार्यमा मासिक तीन हजार रुपैयाँ शैक्षिक तथा सामाजिक भत्ता दिइने घोषणा भएको छ ।

यस्तै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि ३० अर्ब तीन करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सार्वजनिक गर्नुभएको बजेटमा कोभिड–१९ र स्वास्थ्य क्षेत्रलाई नै प्राथमिकता दिइएको छ ।

यस्तै लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको छ । लुम्बिनी प्रदेश सरकारले चालुतर्फ २४ अर्ब ९३ करोड ७३ लाख र पुँजीगततर्फ २१ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।
यसैबीच कर्णाली प्रदेश सरकारले साढे ३६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सरकारले पनि कोरोना नियन्त्रण तथा रोकथामसहित स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्ब रुपैयाँको बजेट ल्याएको छ । यो वर्षभन्दा आउँदो वर्षका लागि झन्डै तीन अर्ब घटाएर बजेट सार्वजनिक भएको छ । बजेटमा स्वास्थ्य क्षेत्रलाई नै प्राथमिकता दिइएको छ ।