कास्कीमा फेरी लम्ब्याईयो निषेधाज्ञा, अब जेठ १४ सम्म लागु

nised

जेठ ५, पोखरा,

कास्की जिल्लामा जेठ ७ गते राति १२ बजेदेखि लागू हुनेगरी जेठ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कास्की प्रशासनले नयाँ भेरियन्ट सहितको कोभिड १९ तीव्र रुपले फैलिएकोले स्थिति भयावह हुन् नदिन भन्दै यस अघि लागु गरेको निषेधाज्ञालाई थप एक साताका लागी निरन्तरता दिएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बुधबारको बैठकले उक्त निर्णय गरेको हो । कास्की जिल्लामा वैशाख १५ गतेदेखिको निषेधालाई लम्ब्याउँदै जेठ ७ गते सम्मकोलागि तय गरिएपनि संक्रमणदर नघटेको भन्दै पुनः एक साता समय थप गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार निषेधाज्ञामा यस अघि जस्तै अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ । ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरण गर्न पाइनेछ ।

सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । सार्वजनिक एवम् निजी सवारी साधन जेठ ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने तथा सवारीसाधानमा ५ जना मात्र सवार हुन र एकमात्र सवारी प्रयोग गर्न आदेशमा भनिएको छ ।

सरकारी प्राथमिकताप्राप्त आयोजनाका निर्माण सामग्री बोक्ने गाडी बेलुका ८ देखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न सकिने, बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर १ चौथाइ शाखामात्र निक्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लीअरिङ र विप्रेषण सेवामात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने तथा त्यहा कार्यरत कर्मचारीहरु परिचय पत्र र कार्यालय पोशाक आधारमा बिहान १० देखि ११ र दिउँसो २ देखि साढे ३ सम्म आवतजावत गर्न सक्ने आदेशमा भनिएको छ ।