गण्डकी प्रदेश सरकारद्धारा थ्रेस होल्ड हटाएर साना दलका सांसदलाई पनि गाडीसहित थप सुविधा प्रदान

gandaki-prdesha1

साउन १३, कास्की,

गण्डकी प्रदेश सरकारले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीलाई लगाइएको दोहोरो थ्रेस होल्ड हटाउने निर्णय गरेको छ । सरकार बनाउने समयमा गठबन्धनमा बिच भएको दोहोरो थ्रेस होल्ड हटाउने समझदारी अनुसार मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले साढे तीन वर्षदेखी कायम रहेको थ्रेस होल्ड हटाउदैं दलको मान्यता दिने निर्णय गरेको हो । यससंगै दुई सांसद मात्रै रहेका जसपा र जनमोर्चाका सांसदहरुले अब भने दलको नेता वा प्रमुख सचेतकको सुविधा थप प्राप्त गर्ने भएका छन् ।
जसपाका दुई सांसद मध्य हरिशरण आचार्य ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री रहेका छन् भने अर्की सांसद धनमाया लामा पोखरेलले अब दलको प्रमुख सचेतकको सुविधा प्राप्त गर्नुहुने भएको छ ।
मन्त्री बन्न नपाएपछि सामाजिक सन्जालमा तिव्र असन्तुष्टि पोख्दै आउनुभएकी पोखरेलले अब अरु सांसदको भन्दा मासिक ४ हजार रुपैयाँ बढी पारिश्रमिक र निजी सचिवालय बन्दोबस्तीका लागि मासिक थप १७ सय ५० रुपैयाँ प्राप्त गर्नुहुने छ ।
यस्तै एक गाडी र प्रतिमहिना ९० लिटर सवारी इन्धन , प्रत्येक ३ महिनामा ५ लिटर मोबिल सेवा थप हुनेछ ।
लामालाई प्रमुख सचेतकको रुपमा निर्णय गरेर जसपाले १ वर्षअघि नै संसदलाई बुझाएको छ ।
यसैगरि जनमोर्चा सांसद तथा संसदीय दलकी नेता पियारी थापाले पनि थप सुविधा प्राप्त गर्नुहुनेछ ।
तीन सांसद रहेको जनमोर्चाले कृष्ण थापालाई कारबाही गरेपछि हाल दुई जना मात्रै सांसद रहेका छन् । जसमध्य खिम विक्रम शाहीले प्रदेश मामिला सभापतिको रुपमा नियुक्ती पाइसक्नुभएको छ । उक्त नियुक्ती संगै उहाँले पनि गाडी र थप सेवा सुविधा प्राप्त गरिसक्नुभएको छ ।