ओली पक्षसँग लड्न नेपाल पक्षद्धारा अखिल फोर्स गठन

akhil_force

असार ३१, काठमाण्डौ,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ ।
बिहीवार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा पाँच सय एक सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताउनुभयो ।
उहाँले वरिष्ठ नेता नेपाललगायतका आफ्ना नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहार प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत आफ्ना नेतालाई गाली गरिरहेको भन्दै उनीहरूलाई भौतिक रूपमा पहिचान गरेर कारबाही गरिने दाबी पनि गर्नुभयो ।
अध्यक्ष पराजुलीले ओली पक्षीय युवा विद्यार्थीले माधव नेपालको घर घेर्ने समाचारहरू बाहिर आएको भन्दै माधव नेपालको घरतर्फ कसैले आँखा लगाए वा खुट्टा लम्काए आफूहरू भौतिक कारबाहीमा उत्रिने चेतावनीसमेत दिनुभयो ।