एमालेको ओली र नेपाल पक्षका सांसदबीच भनाभन भएपछि संसदीय समितिको बैठक स्थगित

madhab nepal

साउन १०, काठमाण्डौ,

नेकपा एमाले भित्रको अन्तरकलह संसदीय समितिमा पनि छताछुल्ल भएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबार बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएपछि वैठक विषयमा प्रवेश नै नगरी स्थगित भएको छ ।

समितिबाट यसअघि जारी भएका निर्देशनहरु कार्यान्वयनको विषयमा छलफल गर्न डाकिएको वैठकको शुरुमै बोल्दै नेता नेपालले प्रतिनिधि सभा पुनस्र्थापना भएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

केही समयपछि वैठकमा प्रवेश गरेका ओली पक्षका सांसद नारदमुनि रानाले प्रतिनिधिसभा सर्वोच्चको आदेशबाट पुनस्र्थापना भएको भन्दै प्रतिनिधिसभा विघटनको जिम्मा माधव नेपालहरुले लिनुपर्ने बताउनुभयो ।

रानाले बैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिंदा घरमा सुतेर बस्नेहरुले प्रतिनिधिसभा पुनस्र्थापना भयो भन्दै कराउनुको कुनै औचित्य नरहेको बताएपछि, राना बोल्दाबोल्दै बीचमै उठेर नेपाल पक्षका दिपकप्रकाश भट्टले चर्को स्वरमा ’प्रतिगमनका मतियार’ भन्दै रानालाई रोक्न खोज्नुभयो ।
त्यसपछि माधव नेपालले पनि प्रतिगमनका मतियारलाई संसदमा बस्ने अधिकार छैन भन्दै राजीनामा दिएर बाहिर जान भनेपछि स्थिति तनावमय बनेको थियो । कांग्रेस र माओवादीका सांसदहरूले पनि नेपाल समूहलाई साथ दिएका थिए ।

कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले संविधान विरोधी कुरा गर्ने भन्दै रानालाई हप्काउनुभयो । समितिकी सभापति पवित्रा खरेलले नारदमुनी रानालाई बोल्ने समय दिन खोजे पनि भट्टले रानालाई बोल्न दिनुभएन ।

एक पछि अर्का सांसद पक्ष विपक्षमा बोल्न थालेपछि केही बेर रमिता भएको थियो भने त्यसपछि समितिका सदस्यहरु वैठकस्थलबाट बाहिरिएका थिए ।