कर्णालीमा डुङ्गा दुर्घटना : एकको मृत्यु, तीन अझै बेपत्ता, ५ जनाको उद्धार

karnali-dunga-accident

साउन १७, सुर्खेत,

कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एक जनाको ज्यान गएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ मा रहेको स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा नदीमा डुङ्गा पल्टिँदा तीन व्यक्ति बेपत्ता भएका हुन् भने एक जनाको ज्यान गएको हो ।

डुङ्गा दुर्घटना हुँदा बेपत्ता हुनेमा मोहन्याल–३ की २० वर्षीया उर्मिला सलामीमगर, उर्मिलाको १० दिनको शिशु र त्यही ठाउँकी २० वर्षीया पार्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताउनुभयो ।

त्यस्तै डुङ्गा दुर्घटनामा घाइते हुनुभएकी मोहन्याल ३ की १९ वर्षीया धनसरा सलामीमगरको उपचारका लागि लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उहाँका एक महिनाका छोरा कर्ण सलामी गम्भीर घाइते भएका छन् । डुङ्गामा १० जना सवार रहेकामा पाँच जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाको खोजीका लागि इलाका प्रहरी कार्यालय सुगरखालको टोली घटनास्थलमा खटिएको जनाइएको छ । यहाँ सहजरूपमा आवागमनका लागि पुलको व्यवस्था नहुँदा नागरिक जोखिम यात्रा गर्न बाध्य छन् ।