सरकारद्धारा आउँदो आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन

bishnu_poudel_budget

जेठ १५, काठमाण्डौ,

सरकारले आउँदो आर्थिक वर्ष २०७८÷०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले आउँदो वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो ।

यो रकममध्ये सङ्घीय सरकारले चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ तीन खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै वित्तिय व्यवस्थातर्फ दुई खर्ब सात अर्ब ९७ करोड रुपैयाँ रहेको छ । प्रदेश र पालिकातर्फ वित्तीय हस्तान्तरणमार्फत तीन खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ विनियोजन भएको छ ।

आउँदो वर्षका लागि विनियोजन भएको १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेटको स्रोत जुटाउन सरकारले साढे पाँच खर्ब रुपैयाँ ऋण लिने भएको छ । विनियोजन भएको बजेट कार्यान्वयनका लागि १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ राजस्व सङ्कलनबाट जुटाइने बजेटमा उल्लेख छ । यस्तै वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ जुटाउने लक्ष्य छ । सरकाले राजस्व र वैदेशिक अनुदानबाट अपुग पाँच खर्ब ५९ अर्ब रुपैयाँ ऋण लिने भएको छ । यसमध्ये वैदेशिक ऋण तीन खर्ब नौ अर्ब २९ करोड रुपैयाँ र आन्तरिकतर्फ दुई खर्ब ५० अर्ब रुपैयाँ बेहोरिने बजेटमा उल्लेख छ ।

यसैबिच आउँदो आर्थिक वर्षका लागि सरकारले सडक यातायातको क्षेत्रमा एक खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । सरकारले आउँदो आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा सडक क्षेत्रलाई विशेष जोड दिएको जनाएको छ । पूर्व–पश्चिम राजमार्ग फराकिलो बनाउने, तीन सय वटा पुल निर्माण गरिने बजेटमा उल्लेख छ । पुल निर्माणका लागि ११ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिने भएको छ । यस्तै सबै प्रदेशबाट इम्बोस्ड नम्बर वितरण गराइने बजेटमा उल्लेख गरिएको छ । साझा यातायातमार्फत काठमाण्डौमा कम्तीमा एक सय वटा विद्युतीय बस चलाइने उल्लेख छ ।