कांग्रेस केन्द्रीय समितिमा आफ्नै नेताहरुद्धारा प्रधानमन्त्री देउवाको आलोचना

NCMeeting 1

साउन २९, काठमाण्डौ,

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले महिनौ वित्दा समेत मन्त्रिमण्डल गठन गर्न नसकेकोमा सभापति शेरबहादुर देउवासँग जवाफ मागेका छन् ।

देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले मन्त्रिपरिषद गठन गर्न नसकेको, पार्टी महाधिवेशन टार्न खोजेको, देउवाको प्रशस्तीमा भिडियो बनाइएकोलगायत विषयमा प्रश्न गरेका हुन् ।

नेता धनराज गुरूङले सभापति देउवालाई ‘शेरबहादुर देउवा मलाई मनपर्छ किनभने..’ भन्ने सार्वजनिक भिडिओबारे प्रश्न गर्नुभएको हो ।
गुरूङले बैठकमा भन्नुभयो, ‘आइ लभ यू बा भन्नेहरूले केपी ओलीलाई सिंहदरबारबाट बालकोटको बार्दलीमा पु¥याए, सभापतिज्यू तपाईं प्रधानमन्त्री बनेपछि कांग्रेसमा पनि मलाई शेरबहादुर मनपर्छ भन्ने प्रवृत्ति शुरू भएछ । यस्तो प्रवृत्तिबाट सजग हुनुहोस् ।’

गुरुङको प्रश्नमा प्रधानमन्त्री देउवाले त्यस्ता भिडिओ बनाउन बन्द गर्न आफूले निर्देशन दिइसकेको बताउनुभएको थियो ।

अर्का नेता डा. शेखर कोइरालाले महिना वित्नलाग्दा समेत मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा प्रधानमन्त्री देउवालाई यो अवस्थाले सरकारले जनहितमा काम गर्न र सुशासन दिन कसरी सक्छ ?’ भनि प्रश्न गर्नुभयो ।

पार्टी कार्यालयमा धर्ना भएका कारण आफूहरुले बुढानिलकण्ठमा बैठक बस्नुपरेकोमा दुःख व्यक्त गर्दै कोइरालाले पार्टी कार्यालयमा धर्ना बसेका साथीहरुको पीडा पनि पार्टीले सुन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले १४ औं महाधिवेशन गर्न इच्छाशक्ति नदेखाएकोमा नेतृत्वको आलोचना गर्नुभयो । उहाँले मापदण्डअनुसार मात्रै क्रियाशील सदस्यता दिन पनि माग गर्नुभयो ।

विवादित वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन गर्न सुझाव दिँदै कोइरालाले विशेष महाधिवेशन नभई नियमित महाधिवेशन नै गर्नुपर्ने अडान राख्नुभयो ।