धर्म घडा पनि दान गर्ने दिन आज अक्षय तृतीया

akshay tritiya

बैशाख ३१, पोखरा

आज बैशाख शुक्ल पक्षको तृतीया तिथी हो । आजको दिनलाई हिन्दू धर्मशास्त्रमा अक्षय तृतीयाको रुपमा उल्लेख गरिएको छ । अक्षय अर्थात् कहिले पनि क्षय नहुने वा नाश नहुने । धर्म शास्त्रहरुमा आजको दिनको बारेमा भनिएको छ ः

यत्किञ्चिद् दीयते दानं स्वल्पं वा यदी वा बहु ।

तत्सर्वं अक्षयं यस्मात्तेनेयमक्षया स्मृता ।।

अर्थात् आजको दिन गरेको जप, दान, वा पुण्य कर्म धेरै होस् वा थोरै होस्, त्यो सबै अक्षय अर्थात कहिले पनि नाश नहुने हुन्छ । त्यसकारण आजको दिन पुण्यका कामहरु गर्नुपर्छ भनेर शास्त्रमा लेखिएको छ । त्यसैले अक्षय तृतीयाको दिन धर्म घडा पनि दान गर्नु भनिएको छ ः

एष धर्मघटो दत्तो ब्रह्म विष्णुशिवात्मकः ।
अस्य प्रदानात्तृप्यन्तु पितरोऽपि पितामहाः ।।
गन्धोदकं तिलैर्मिश्रं सान्नं कुम्भं फलान्वितम् ।
पितृभ्यः संप्रदास्यामि ह्यक्षय्यमुपतिष्ठतु ।

आजको दिन नै अक्षय तृतीया मनाउनु पर्ने आधारहरु निकै छन् । हिन्दू धर्मशास्त्रहरुमा त अक्षय तृतीयाको बारेमा निकै महत्वको वर्णनहरु गरिएका छन् । भविष्य पुराणमा भनिएको छ कि आजको दिन नै सत्य युग र त्रेता युगको शुरुवात भएको हो ।

चार प्रकारका युग हुन्छन् भनेर ग्रन्थहरुमा लेखिएको छ – सत्ययुग, त्रेता युग, द्वापर युग र कलि युग । यी चार युगहरुमध्ये सत्य युग र त्रेता युगको आरम्भ आजको दिनदेखि नै भएको हो भन्ने प्रमाण पाइन्छ ।

आजको दिनको अरु पनि निकै महिमाहरु रहेका छन् । हिन्दू धर्मग्रन्थहरुमा भगवान् विष्णुका विशेष रुपमा २४ वटा अवतारहरु भएका कुराहरु उल्लेख छन् । ती सबै भगवानका अवतारहरु फरकफरक समयमा भएका छन् । तीमध्ये भगवान् नारायणको परशुराम, नरनारायण तथा हयग्रीव अवतार आज नै भएको हो भन्ने प्रमाणहरु रहेका छन् । त्यसकारण आजको तृतीया भगवान् विष्णुको प्रिय तृतीया हो भन्ने बुझिन्छ । विष्णुले मात्र नभइ भगवान् शिवले पनि आजको दिनलाई निकै प्रिय मान्नुभएको छ । त्यसैकारण भगवान् शिवले पार्वतीसँग विवाह पनि आजैका दिन गर्नुभएको थियो ।

भारतमा बद्रीनारायण भगवान्को दर्शन तथा पूजा गर्नको लागि आजदेखि सबैलाई खुल्ला गरिन्छ । अर्थात् बद्रीनारायणमा आजदेखि नै ढोका खुल्छ । बृन्दावनमा बाँके बिहारीजीको दर्शन सधैं गर्न पाइने भए पनि उहाँको चरणको दर्शन भने आज मात्र गराइन्छ । यस्ता उदाहरणहरु धेरै पाइन्छन् ।

आजको दिन विशेष रुपमा जौको सातु तथा सर्वत सत्पात्रलाई दान गर्नु भनिएको छ । त्यसकारण आजको दिन जौको सातु र सर्वत बाँड्नु राम्रो मानिन्छ । आजको दिन जौको सातु र सर्वत मन्दिरका आसपासमा वा भीडभाडमा बाँड्ने गरिन्छ । यसरी बाँड्नाले यमराजको भय हुँदैन भन्ने पनि मान्यता रहेको छ । तर यसवर्ष कोरोनाको कारण यसरी सर्बत बाँड्नु चाहिँ हुँदैन ।
स्रोत ः उज्यालो अनलाई