पोखरामा फागुनको दोश्रो साताबाट छैटौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप हुने

hapk-main

भदौ ४, कास्की,

मार्शल आर्ट्स नेपाल हाप्किडो संघले देशै भरिका दुई हजार खेलाडीलाई पोखरामा उर्ताने भएको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, गण्डकी प्रदेशको आयोजनामा फागुनको दोश्रो साता हुने “छैटौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०७८” मा देशै भरिका दुई हजार खेलाडी पोखरा आउने भएका हुन ।
फागुन १३ देखि १६ गते सम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा फाइट तर्फ महिला र पुरुष दुवै तर्फ १० तौल समूहमा प्रतिस्पर्धा हुने नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, गण्डकी प्रदेशकी उपाध्यक्ष तथा प्रदेश खेलकुद परिषदकी कार्यकारी सदस्य तारा माया थापा मगरले जानकारी दिएकी छन । प्रतियोगितामा २०–२५, २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, र ६५–७० गरी १० तौल समूहमा प्रतिस्पर्धा हुने ।
पोखरामा शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रतियोगिताको प्रत्येक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कारको व्यवस्था गरिएको संघले जनाएको छ । यस्तै, सेल्फ डिफेन्स, डेमोन्स्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुने कार्यक्रमकी संयोजक समेत रहेकी मगरले बताइन ।
खेलाडीलाई आवाश तथा सम्पूर्ण सुविधाहरु निशुल्क गरिएको संघका केन्द्रिय अध्यक्ष काली बहादुर घर्ती मगरले जनाएका छन । करिव एक करोड खर्च अनुमान गरिएको उक्त प्रतियोगितामा नेपाली हाप्किडोका खेलाडीलाई फेरी सक्रिय बनाउन प्रतियोगिता महत्वपूर्ण साबित हुने विश्वास रहेको साउथ एशिया हाप्किडो फेडेरेशनका अध्यक्ष समेत रहेका मगरले बताए ।