मुख्यमन्त्री हेलिकप्टरमा घुमेर फर्किए : तर त्यहि ठाउँमा कोरोना विरुद्धको खोप पुगेन

mukhhemantri

साउन १, कास्की,

मुख्यमन्त्री सहितको टोलि हेलिकप्टर मार्फत गोरखाका विकट वस्तिमा पुगेपनि कोरोना विरुद्धको खोप भने नपुगेको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको आलोचना भएको छ ।

शुक्रबार मुख्यमन्त्री नेपाली सहित गोरखाका प्रदेशसभा सदस्य समेत रहनुभएका उर्जा, सिंचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ र प्रमुख सचिव डा. दामोदर रेग्मीको टोली हेलिकप्टर लिएर गोर्खाको छेकम्पार, ल्हो लगायतका ठाउँ पुगेर फर्किएको हो ।

तर उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका १८ देखि ५५ वर्ष उमेरका नागरिकका लागि छुट्टयाइएको तीन हजार डोज भेरोसेल खोप दुई सातादेखि जिल्ला स्वास्थ्य कार्यालयमा थन्किएको छ ।

१७ असारमा खोप आएपछि अन्यत्र २० गतेबाट अभियान शुरु भयो । तर सडक सञ्जाल नजोडिएको चुमनुव्री गाउँपालिकामा जाने पदमार्ग पनि अविरल वर्षाका कारण अवरुद्ध भएकाले खोप पु¥याउन नसकिएको र अब हेलिकप्टरमार्फत खोप ढुवानी गर्नुको विकल्प नरहेको बताईएको छ ।

चुमनुव्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले कहिले हेलिकप्टर आउँछ र खोप लैजाउँला भनेर सदरमुकाममै बसिरहेको गुनासो गर्नुभएको छ ।

शुक्रबार पोखराबाट हेलिकप्टरमा गएको मुख्यमन्त्री नेतृत्वको टोलीले मास्क र सेनिटाइजरहरु मात्रै लगेको तर खोप लिन सदरमुकाम नपुगेको स्वास्थ्य शाखा प्रमुख गुरुङले बताउनुभएको छ ।

मुख्यमन्त्रीको टोलीमा रहनुभएका उर्जामन्त्री आचार्यले भने खोप लैजान काठमाडौंबाट हेलिकप्टर आउने भनेकाले आफूहरु सदरमुकाम नगएको बताउनुभएको छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले पनि उत्तरी गोरखामा खोप ढुवानीका लागि काठमाडौंबाट सिम्रिक एयरको हेलिकप्टर भनिएको तर मौसमका कारण आउन नसकेको बताउनुभएको छ ।

तर सामाजिक सञ्जालमा मुख्यमन्त्री घुमेर फर्कनुको साटो खोप लगिदिएको भए जनताले राहत महसुस गर्न पाउनेथिए भन्दै धेरैले आलोचना गरेका छन् ।