कास्कीको ठूलास्वाँरा गाउँ उद्यमी गाउँका रुपमा विकास हुँदै

thulo swaaraa

साउन २७, कास्की,

कास्कीको मादी गाउँपालिका–५ स्थित ठूलास्वाँरा गाउँ उद्यमी गाउँका रुपमा विकास हुँदै गएको छ ।

आजभन्दा ११ वर्षअघि लायन्स क्लब अफ पोखरा फिस्टेलले नमूना उद्यमी गाउँ ‘मोडल भिलेज’ घोषणा गरेको ठूलास्वाँरा गाउँ लायन्स फिस्टेल भिलेजको रूपमा स्थापित भएको छ ।

विगतमा समाजमा बोल्न लजाउने सर्वसाधारण अहिले भने हाक्काहाक्की आफ्ना कुरा राख्ने र समाजको नेतृत्व गर्न सक्ने भएका छन् । ११ वर्षअघि यहाँका ६० घर परिवारलाई लक्षित गरी प्रत्येकको आयआर्जनमा वृद्वि गर्नुका साथै व्यावसायिक दक्षता अभिवृद्वि तथा रोजगारीमूलक कार्यतर्फ लायन्सले अभिप्रेरित गरेको थियो ।

क्लबको सक्रियतामा विभिन्न गÞैरसरकारी सङ्घ संस्थाको सहकार्यमा यहाँका स्थानीयवासीलाई विभिन्न सीपमूलक तालीम प्रदान गरिँदै आएको छ । क्लबका पूर्व अध्यक्ष तीर्थलाल श्रेष्ठका अनुसार सन् २०१० मा ठूलास्वाँरामा रहेका ६० घरपरिवारलाई तीन वर्षमा फिर्ता गर्ने गरी प्रतिपरिवार दुई÷दुई वटा बाख्रा, त्यस्तै फलफूलका बिरुवा, डाँले घाँस, तरकारीको बिउबिजन, प्रत्येक घरलाई एक÷एक डस्बिन, सोलर लाइटलगायत वितरण गरिएको थियो ।

सोहि योजनाका कारण यहाँका स्थानीयवासीमा उद्यमशीलता वृद्धि भई अहिले घरघरमा बाख्रा तथा दैलोदैलोमा तरकारी सम्भव भएको छ ।

लायन्सका प्रत्येक वर्ष हुने गरेका गतिविधिका कारण पछिल्ला समयमा यहाँका स्थानीयवासीमा जागरुकता वृद्धि हुनुका साथै व्यक्तित्व विकासमा पनि टेवा पुगेको स्थानीयवासीको अनुभव छ । लायन्सका तर्फबाट ठूलास्वाँरालाई लायन्स भिलेज छनोट गरी आयआर्जनका कामतर्फ अभिप्रेरित गर्दा दिनानुदिन यो गाउँ नमूना बन्दै गएको मादी गाउँपालिका–५ का वडाध्यक्ष रतनबहादुर गुरुङले बताउनुभयो ।

समाज परिवर्तनमा लायन्सले खेलेको भूमिकाको सबैले प्रशंसा गर्दा गाउँको विकासकालागि अझै धेरै गर्नुपर्ने प्रेरणा मिलेको क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्टका सिनियर एडभाइजर बाबुराम गिरीले बताउनुभयो ।