भारतमा कालो ढुसीबाट ४५ हजार ३ सय ७४ संक्रमित : ४ हजार ३ सय बढिको मृत्यु

black fungas 2

एजेन्सी,
साउन ७, कास्की,

भारतमा म्युकरमाइकोसिस (कालो ढुसी) को संक्रमणका कारण ४ हजार ३ सयभन्दा धेरैको मृत्यु भएको छ ।

पछिल्लो समय भारतमा कालो ढुसीका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै यसबाट मृत्यु हुनेको संख्या पनि बढेको हो ।

भारतका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाका अनुसार अहिलेसम्म भारतमा कालो ढुसीका ४५ हजार ३ सय ७४ संक्रमित फेला परेका छन् ।

उनीहरुमध्ये करिब आधा मानिसहरु यसको उपचार गराइरहेका छन् । कालो ढुसीको संक्रमण नाक, आँखा र कहिलेकाहीँ मस्तिष्कमा पनि पर्ने गर्छ । कालोढुसीको संक्रमण देखिनेमा अधिकांश कोरोनाबाट निको भएका मानिस रहेका छन् ।

कोरोनाको उपचारको क्रममा स्टेरोइडको प्रयोग गर्ने र मधुमेहको समस्या भएका मानिसहरु सबैभन्दा धेरै जोखिममा रहेको डाक्टरहरुले बताएका छन् । डाक्टरहरुका अनुसार कोरोना निको भएको १२ देखि १८ दिनमा कालो ढुसीको संक्रमण देखिने गरेको पाइएको छ ।

भारतको महाराष्ट्र, गुजरात, तामिलनाडु र राजस्थानमा कालो ढुसीका सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । महाराष्ट्र र गुजरातमा मात्र संक्रमितको संख्या १ हजार ७ सय ८५ छ ।