लुम्बिनीका मुख्यमन्त्री सहित ७ मन्त्रीद्धारा सपथ ग्रहण

safat lumbini

साउन २८, रुपन्देही,

लुम्बिनी प्रदेशका नवनियूक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

केसीलाई लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । उहाँसँगै गठबन्धन दलका अन्य ६ मन्त्रीले समेत पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नेपाली कांग्रेसक डिल्ली चौधरीले ग्रामिण तथा शहरी विकास मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा योजना मन्त्री तथा अन्यले विना विभागीय मन्त्रीका रुपमा सपथ लिएका हुन् ।

जसपाका पूर्मती ढेंगा र सुमन शर्माले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन् । यसैगरी नवलपरासी(पश्चिम) बाट सुर्य चिन्हमा चुनाव जीतेका अजय शाहीले समेत विनाविभागीय मन्त्रीको रुपमा सपथ लिनुभएको छ । शाहीलाई नेकपा एमालेले पार्टीको नीति विपरित गएको भन्दै कारबाही गर्ने जनाएको छ ।

प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुख सामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाको समय दिएर सरकारका लागि दाबी गर्न आह्वान गर्नुभएको थियो । सोही अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको थियो ।