राष्ट्रिय सभामा तुईन काण्डका दोषिलाई कारवाहि देखि भारतले मिचेको भूमि फिर्ता ल्याउनु पर्ने माग

samsad vittra

साउन २६, काठमाण्डौ,

राष्ट्रिय सभाका सांसदहरूले तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे अझै पनि सत्य÷तथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

मङ्गलवार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद दीपा गुरुङले महाकाली नदीमा बेपत्ता भएका धामीको घटनाको यथार्थ बाहिर ल्याउन ढिलाइ नगर्न सरकारलाई सचेत गराउनुभएको छ ।

सांसद गुरुङले शहीद गोविन्द गौतमलाई गोली हानेर एसएसबीले मारेको घटना नेपाली नागरिकको मानसपटलमा ताजै रहेकाले यो घटनाको चाँडो यथार्थ बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी सांसद नैनकला ओझाले कालापानी, लिपुलेक, लिम्पियाधुराको भारततद्वारा मिचिएको जमिन छिटो भन्दा छिटो फिर्ता गराउन आग्रह गर्नुभएको छ । उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले त्यो जमिन फिर्ता हुनुपर्छ भन्दै गर्दा कसको निर्देशनमा विवाद अघि सारेर सरकारले गरेका राम्रा काममा भाँजो हालेको भन्दै प्रश्नसमेत गर्नुभयो ।

अर्का सांसद प्रकाश पन्तले अपाङ्गता ऐन कार्यान्वयन गर्ने गरी आएको अपाङ्गता अधिकारसम्बन्धी नियमावलीमा आपत्ति जनाउँदै यो नियम व्यवहारमा लागू हुने गरी पुनर्विचार र पुनर्लेखन गर्न सरकारलाई सुझाव दिनुभयो ।

उहाँले अपाङ्गता अधिकार ऐन सरोकारवालालाई बाहिर राखेर ल्याएको समेत आरोप लगाउनुभयो ।

यसैबिच
सभामुख अग्निप्रसाद सापकोटाले तुइन चुँडिएर धामी बेपत्ता भएको घटनाप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले तुइन प्रकरणको विषयमा यथार्थ जानकारी दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

यही साउन १५ गते बिहान दार्चुलाको व्यास गाउँपालिका २ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिएपछि धामी बेपत्ता भएको घटना सार्वजनिक भएको थियो ।

सरकारले यस घटनाको छानबिनका लागि यही साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । छानबिन टोलीलाई १० दिनको समयसीमा दिइएको छ ।