देशभर कोरोना संक्रमण दर घट्दा गण्डकीमा थप १७ जनाको संक्रमणबाट मृत्यु

update

जेठ १७, पोखरा,

सोमबार गण्डकी प्रदेशका थप ८ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका १ हजार ८३२ जनामा गरिएको नमुना परीक्षणमा कास्की जिल्लाका १ सय ५६ जना सहित थप ८४२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४२ हजार ५२४ पुगेको छ ।

त्यस्तै सोमबार गण्डकीमा थप १७ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका चार जना सहित तनहुँका चार जना, लमजुङका एक जना, स्याङ्गजाका दुई जना, नवलपुरका तीन जना, बागलुङका दुई जना र म्याग्दीका एक जना रहेका छन् । यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६७८ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
देशभर कोरोना भाइरसको सङ्क्रमण दर केही घटेको छ । सोमबार नमुना परीक्षण गरिएकामध्ये २७ दशमलव २४ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

केही दिन अघिसम्म नमुना परीक्षण गरिएकामध्ये ३५ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुने गरेकोमा सोमबार २७ प्रतिशतमा झरेको हो । पछिल्लो समय ४ हजार ७ सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा चार हजार एक सय ७८ जना र दुई हजार चार सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ८४ जनामा सङ्क्रमण देखिएको हो । अहिले नेपालमा एक लाख ६ हजार चार सय ७० जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले बताएको छ ।

त्यस्तै कोरोना सङ्क्रमणबाट थप १ सय १४ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार तीन सय ८६ पुगेको छ ।