आजदेखि चिनियाँ खोप लगाउन सुरु गरिँदै, पोखरामा भने आउँदो २७ गतेबाट सुरु गरिने

khop

जेठ २५, पोखरा,

आजदेखि कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेल लगाउन थालिने भएको छ । चीन सरकारद्वारा अनुदानमा उपलब्ध कोरोनाविरुद्धको खोप मंगलबारदेखि लगाउन सुरु गरिने स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशव्यापी रूपमा स्थानीय तहको समन्वयमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिनुभयो ।

तर कास्कीको पोखरा महानगरपालिकामा भने ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई जेठ २७ गते बिहिबार देखि खोप लगाउन सुरु गरिने स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने निणर्य गरेसँगै पोखरामा पनि सोको तयारी गरिएको स्वास्थ्य महाशाखाले जनाएको हो ।

यस्तै तिब्बतसँग सीमा जोडिएका हिमाली जिल्लाका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने उहाँले बताउनुभयो । खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर जानसमेत उहाँले आग्रह गर्नुभएको छ । यो पटक लक्षित समूहबाहेक अन्य व्यक्ति तथा समूहलाई प्राथमिकताका आधारमा खोप नलगाइने उहाँको भनाइ छ ।