गण्डकी प्रदेशमा नयाँ सरकारबारे शनिबार दिउँसो ३ बजेपछि निर्णय हुने, ३१ सांसद सांग्रिला होटलमा

8

जेठ २८, पोखरा,

नयाँ सरकार गठनका लागि गण्डकीका विपक्षी दलहरुले प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षर बुझाएपनि प्रदेश प्रमुख सीताकुमारी पौडेलले सबै प्रक्रिया हेरेर शनिबार मात्र कदम चाल्ने बताउनुभएको छ ।

हस्ताक्षर बुझिसकेपछि प्रदेश प्रमुख पौडेलले आफूले शनिबार दिउँसो ३ बजेसम्मको समयसीमा तोकेको र कानुन वमोजिम नै जाने बताउनुभएको हो । उहाले भन्नुभयो ‘आवश्यक परे म तपाईंहरुलाई बोलाउँछु, मैले संविधान वमोजिम नै काम गर्ने हो ।’

प्रदेश सभामा बिहिबार मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको पहल सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले बहुमत दावी गरेर आउन विपक्षी दलहरूलाई आह्वान गर्दै शनिबार दिउँसो ३ बजेसम्मको समय दिएपछि कांग्रेस नेतृत्वको गठबन्धन बहुमत दावी गर्दै प्रदेश प्रमुख कहाँ गएको थियो ।

विपक्षी गठबन्धनमा ३१ जना सांसदले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।
यसैबिच
गण्डकी प्रदेश सभाका विपक्षी गठबन्धनका ३१ सांसदलाई सांग्रिला होटलमा राखिएको छ । विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेका सबै सांसदलाई होटलमा राखिएको छ ।

शनिबार नयाँ सरकार गठनको प्रक्रिया आरम्भ भएपछि मात्रै सांसदहरुलाई संसदमा प्रवेश गराउने तयारी रहेको बुझिएको छ ।

यसअघि प्रदेश सभामा सरकारका मुख्यमन्त्री र मन्त्रीहरु सहभागी नभएको भन्दै आइतबार दिउँसो १ बजे सम्मको लागि संसद स्थगित भएको थियो । संसद कृष्ण थापा पद मुक्त भएको र मुख्यमन्त्री बिश्वास मत प्राप्त नगरेको सुचना बाचन गरि संसद स्थगन गरिएको हो । सभामा मन्त्रीहरुको सहभागिता नभएको भन्दै सत्ता पक्षले सदन नचलाउन आग्रह गरेका थिए ।