राष्ट्रपति भण्डारी द्वारा कोभिड १९ संकट व्यवस्थापन र शपथ सम्बन्धी अध्यादेश जारी

bhandari

जेठ ६, काठमाण्डौ,

राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश २०७८ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ जारी गर्नुभएको छ ।

संविधानको धारा ७६ को उपधारा (३) अनुसार सरकारको नेतृत्व लिएर वैशाख ३१ गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा विवादमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शपथसम्बन्धी अध्यादेश जारि गर्न लगाउनुभएको हो ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज (बिहीवार) ती अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले ठूलो दलको हैसियतमा यही वैशाख ३१ गते शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको ’प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण नगरि ‘त्यो पर्दैन’ भन्नुभएको थियो ।

ओलीले राष्ट्रपति संस्थाको मानमर्दन गरेकाले ३१ गतेको शपथ बदर गरेर अर्को पटक शपथ लिन माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले सोमवार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको छ ।